तपाईँ सुन्दै हुनुहुन्छः

कोरियाबाट फर्केका नेपालीलाई लक्षित चारवटा ‘गाइड बुक’ विमोचन

काठमाडौं । कोरियाबाट फर्केका आप्रवासी श्रमिकहरूको उद्यमशील जीवनलाई सहयोग गर्न कोरिया–ह्याप्पी माइग्रेसन K-HaMi (हामी)परियोजनाले जानकारीमूलक चार वटा पुस्तकहरू सार्वजनिक गरेको छ ।

पुस्तक विमोचन तथा चौथो पुनःएकिकरण सम्बन्धी कार्यक्रमको जानकारी दिन मंगलबार आयोजित कार्यक्रममा वित्तीय साझेदारको रुपमा दक्षिण कोरियाली विदेश मन्त्रालय अन्तर्गतको सरकारी विकास सहायता एजेन्सी (कोइका)का देशीय निर्देशक कोङ्ग मुहन र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव निश्चलराज पाण्डेले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो।

सुखी प्रवासन जीवनका लागि वित्तीय गाइड बुक, आफ्नो भविष्यको परिकल्पना, वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श र कोरिया रिटर्नीहरूका लागि पुनःएकीकरण सम्बन्धी जानकारीमूलक पुस्तकमार्फत कोरिया जानु अघि , कोरियामा काम गर्दाको बखत र नेपाल फर्केपछिको जीवनलाई कसरी सुखद बनाउन सकिन्छ भन्नेबारे शिक्षा तथा जानकारी दिन खोजिएको छ ।

कार्यक्रममा मन्त्रालयका सहसचिव पाण्डेले यस्ता परियोजनामार्फत रिटर्नीहरुलाइ पुनःएकीकरण गर्न सहज हुने तथा वित्तीय साक्षरतामा पनि पुस्तकले सघाउने बताउनुभयो । त्यस्तै कोरिया जाने तयारीमा रहेका युवा र कोरिया रिटर्नीहरुलाई यी पुस्तकहरू निकै महत्वपूर्ण हुने देशीय निर्देशक मुहनले बताउनुभयो । कार्यक्रममा रिटर्नीहरुको संगठित संस्थाका प्रस्तुती र अनुभवहरू पनि राखिएको थियो ।

इपिएसमार्फत कोरिया गएर फर्केका रिटर्नीहरुलाइ पुनःएकीकरणका लागि सहजीकरण गर्ने उद्देश्यले नेपाल सरकार र दक्षिण कोरिया सरकारबीचको पहलमा सन् २०२३ मार्चदेखि यो परियोजना सञ्चालित छ । परियोजनाले रिटर्नीहरुको अवस्थाका बारेमा सर्वेक्षण पनि गरेको छ ।

परियोजनालाई श्रम मन्त्रालय ,वैदेशिक रोजगार विभाग तथा इपिएस कोरिया शाखाले सहकार्य गरेको छ। सन् २०२८ सम्म रहने परियोजनाको उद्यमशीलता क्षमता अभिवृद्धि गरि नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याइ रोजगारी वृद्धि गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button