तपाईँ सुन्दै हुनुहुन्छः

मनसुनजन्य विपदमा परी एक सय ३० को मृत्यु, ४८ अझै बेपत्ता

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपदबाट अहिलेसम्म एक सय ३० जनाको मृत्यु भएको बताउनुभएको छ । 

बैठकमा सांसदहरुले आकस्मिक समयमा उठाउनुभएको प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले मनसुन सुरु भएदेखि अहिलेसम्म एक हजार पाँच सय ९२ घटना भएको, एक सय ३० जनाको मृत्यु भएको,  ४८ जना अझै बेपत्ता रहेको र एक सय ४४ जना घाइते भएको जानकारी दिनुभयो । 

यसैगरी मनसुनजन्य विपदबाट चार हजार चार परिवार विस्थापित भएको जसमध्ये एक हजार ५९ परिवारलाई सुरक्षित आश्रय स्थलमा सारिएको, बाढी तथा पहिरोबाट दुई सय ३१ घरमा क्षति पुगेको र ४३ पुल बगेको मन्त्री लेखकले जानकारी दिनुभयो ।  

यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले सरकारले चालु खर्च घटाउँदै बजेटलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने, सार्वजनिक प्रशासनलाई चुस्त दुरुस्त बनाई भ्रष्टाचारमुक्त बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरुले कैलालीको धनगढीमा अस्पताल बनाउने भनेर स्थानीय निकायमा झुटो विवरण पेश गरी चर्च बनाउनेलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरुले भ्रष्टाचारका फाइल खोली दोषीलाई कडा कारबाही गर्नुपर्ने, बाढी पहिरोका कारण अवरुद्ध भएका सडक, भत्किएका पुललाई तत्काल पुर्ननिर्माण गरी यात्रालाई सहज बनाउन सरकारसँग माग गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button