पुष्पलाल कुशल सङ्गठन, राष्ट्रवादी र दूरदर्शी नेता हुनुहुन्थ्यो : अध्यक्ष नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको चर्चा गरिएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आज कीर्तिपुर–४ चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा उहाँले मुलुकको राजनीतिक विकासमा पुर्याएको योगदानको स्मरण गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले निरङ्कुश राणा शासनको अन्त्य गरी जनअधिकार स्थापना गर्न मुलुकमा कम्युनिष्ट पार्टी स्थापना गर्नुभएका पुष्पलाल कुशल सङ्गठन, राष्ट्रवादी र दूरदर्शी नेता भएको बताउनुभयो ।
अध्यक्ष नेपालले राजनीतिक क्रान्तिका विभिन्न चरण तथा सङ्घर्षका बेला सिद्धान्तप्रति अविचलित रहनुभएका पुष्पलाल देश र जनताको हितमा जस्तो सुकै जोखिम उठाएर अगाडि बढ्न तथा अरू साथीलाई प्रेरित गर्ने त्याग एवं निष्ठाको आदर्श भएको धारणा राख्नुभयो ।
त्यसक्रममा अध्यक्ष नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, कम्युनिष्ट नेता वामदेव गौतम लगायत नेताहरूले कार्यक्रम स्थलमा रहेको पुष्पलालको शालिकमा पुष्प गुच्छासहित माल्यार्पण गर्नुभएको थियो ।
जन्म विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा जन्मनुभएका पुष्पलालको विसं २०३५ साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।
जनअधिकार स्थापित गर्ने लक्ष्यका साथ विसं २००६ वैशाख १० मा पुष्पलालसहित नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा नेकपाको स्थापना भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्