सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सभाको आजको बैठकमा सांसदहरुले बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट जनधनको क्षति पुगेको भन्दै विपद्मा परी ज्यान गुमाउनेहरूलाई उचित क्षतिपूर्ति दिन सरकारलाई आग्रह गर्नुभयो ।
सांसदहरुले वैदेशिक रोजगारीमा गएका महिला कामदारहरूले डरलाग्दो घरेलु हिंसा भोग्न बाध्य भएको भन्दै तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
पछिल्लो समय नेपालमा आत्महत्याका घटना बढेकाले सरकारी तवरबाटै सचेतना कार्यक्रम सञ्चालन गरिनुपर्ने, पोलियो रोग पुनः देखिन थालेकाले भ्याक्सिनको व्यवस्था गर्नुपर्ने लगायतमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको अभिलेख संरक्षण पहिलो संशोधन विधेयक–२०७७ लाई सहमति गरियोस् भनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले सहमति भएको छ ।
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने छ ।







प्रतिक्रिया राख्नुहोस्