तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल टेलिकमको टावर अवरुद्ध हुँदा सञ्चार सेवा पनि अवरुद्ध

रुकुम पूर्व। रुकुमपुर्वको सिस्ने गाउँपालिका – ४ मा नेपाल टेलिकमको टावर अवरुद्ध हुँदा सञ्चार सेवा पनि अवरुद्ध भएको छ । जिल्लाकाे सिस्ने गाउँपालिका – ४ स्थित दादिङमा रहेको नमस्तेको टावर अवरुद्ध हुँदा सञ्चार सेवा अवरुद्ध भएको हाे । टावर गाउँमै भएपनि फोन गर्न तथा इन्टरनेट चलाउन घर बाहिर अथवा डाँडामा जानुपर्ने बाध्यता भने पहिलेकै जस्तो रहेको सिस्ने गाउँपालिका – ४ का स्थानीय करुणा पुन मगरले बताउनुभएको छ ।

पुनका अनुसार दादिङ लगायत आसपासका बस्तीहरूमा केही दिन यता फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । टावर बनेपछि सिस्ने ४ दादिङमा नमस्तेको फाेर्जी सेवा सुचारु हुने भन्दै स्थानीयहरू खुशी बनेका थिए तर टावर बेलाबेला अवरुद्ध हुँदै गएपछि स्थानीयहरूले टावर भए नभएको आभास गर्न नसकेको गुनासो गरेका छन् ।

टावर अवरुद्ध हुनुमा सिस्ने – २ छिपखाेलामा रहेको छिपखाेला लघु जलविद्युतको विद्युत् लाइनमा समस्या हुँदा टावरमा पनि समस्या हुने गरेको नेपाल टेलिकम रुकुम पूर्व शाखाका प्रमुख झुपलाल ओलीले बताउनुभएको छ । प्रमुख ओलीका अनुसार त्यहाँ नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन नहुँदा याे समस्या आएको हाे । छिपखाेला लघु जलविद्युतको लाइन सुचारु नहुँदा सम्म टावर सञ्चालन गर्न तत्काल अरू विकल्प नभएको कार्यालयको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button