तपाईँ सुन्दै हुनुहुन्छः

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले उपसभामुख इन्दिरा रानासँग जोडिएर उठेका विषय, बृद्धबृद्धाहरुलाई परिचयपत्र बनाउन भइरहेको कठिनाइ लगायतका विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिका जानका लागि ५ जनालाई सिफारिस गरेको भन्दै उपसभामुखमाथि छानबिन गर्न माग गर्नुभयो ।

नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागीले उपसभामुख इन्दिरा रानाको विज्ञप्तिले मानव बेचबिखनमा लेनदेन छ भन्ने प्रस्ट पारेको आरोप लगाउनुभयो ।

सांसद माधव सापकोटाले संवैधानिक परिषद्को गणित हेरेर उपसभामुखको चरित्रमाथि प्रश्न उठाएको हो भने प्रतिपक्ष दलले सशक्त प्रतिवाद गर्ने भन्दै राजनीतिक र नैतिक प्रश्न भए पनि चरित्र हत्या गर्ने काम नगर्न चेतावनी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानामगरलाई मिडिया ट्रायल गरेर मानव तस्कर भनेर चरित्र हत्या गरेको भन्दै मानव तस्करी गरेको प्रमाणित गर्न चुनौती दिनुभयो ।

सांसदहरूले ७० वर्ष नाघिसकेका नागरिकता भएका व्यक्तिलाई राष्ट्रिय परिचयपत्र दिइरहनु आवश्यक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

डेडिकेटेड र ट्रङ्क लाइनका विषयमा विभिन्न तीन वटा चरणमा विवाद रहेको र संसदीय समितिले नै निर्देशन दिएको र अघिल्लो सरकारले हल गर्ने भनेको अवस्थामा अहिले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद मिलाउने नाममा आठ अर्ब बक्यौता रहेको रकममा चलखेल गर्न खोजेको पनि सांसदहरुले आरोप लगाउनुभयो ।

सांसदहरुले बाढी र पहिरोबाट भइरहेको क्षति र जोखिमका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै समयमा नै उद्धार, उपचार र राहतमा ध्यान दिँदै जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गर्नुभएको सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button