धनकुटामा ५४ प्रतिशत रोपाई सम्पन्न

धनकुटा । साउनको पहिलो साता सकिन लाग्दा धनकुटामा हालसम्म ५४ प्रतिशत धान रोपाई सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार केही दिन वर्षा भए पनि धान रोपाई गर्नका लागि पर्याप्त पानी नहुँदा अपेक्षित रोपाई हुन नसकेको हो ।
धनकुटामा हालसम्म रोपाई भएको क्षेत्रमा बढीभन्दा बढी सिँचाइको सुविधा भएको ठाउँमा मात्रै रोपाई भएको छ । कृषि ज्ञान केन्द्र धनकुटाले दिएको जानकारीअनुसार धनकुटामा ७ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जसको ५४ प्रतिशत अर्थात् ४ हजार ४ सय ९३ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।
धनकुटामा गत वर्ष साउन ४ गतेसम्म ६० प्रतिशत रोपाइँ भएकोमा यो वर्ष ५४ प्रतिशत मात्रै रोपाई भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानामगरले बताउनुभयो ।

धनकुटाका अधिकांश ठाउँमा आकाशे पानीकै भरमा खेती गर्नुपर्ने भएकाले धान खेती समयमा हुन नसकेको हो । यहाँ धानमा आत्मनिर्भर नभए पनि समयमा पानी नपर्दा झन समस्या आउन सक्ने बताइएको छ ।
ढिलो गरी रोपाई हुने हुँदा यसपटक पनि उत्पादनमा प्रभाव पर्ने किसानले जनाएका छन् । असारको अन्तिम साता पानी परेको भएपनि खेतमा रहेको मकै थन्क्याउन र चैते धान थन्क्याउन किसान व्यस्त भएकाले रोपाइँ बढ्न नसकेको हो ।
यस्तै, अहिले रोपाइँ गर्न पानीकै अभाव भएको छ । कहिले पानी नपरेर उत्पादन घट्ने गरेको र कहिले समयमा मलखाद नपाउँदा पनि उत्पादनमा प्रभाव पर्ने गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्