सभामुख र सचेतकबिच समसामयिक विषयमा छलफल
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख एवं मुख्य सचेतकहरूबिच प्रतिनिधि सभा सञ्चलनका लागि क्यालेन्डर निर्माण, प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि पठाउनुभएको सूचनालगायतका विषयमा छलफल भएको छ ।
संघीय संसद् सचिवालयमा आज भएको बैठकमा प्रधानमन्त्रीको विश्वासको मत, सभाको आगामी पन्ध्र दिनका लागि क्यालेन्डर निर्माण र विभिन्न समितिमा सभापति चयन लगायतका विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी गराउनुभयो ।
यसैगरी नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने विषयमा छलफल भएको जानकारी गराउनुभयो ।
उहाँले छलफलमा सदन चलाउने क्यालेन्डरको विषयमा पनि छलफल भएको आगामी १५ गतेसम्मको सभाको बैठक बस्ने, विधेयकहरूमाथि छलफल गर्नको लागि समितिलाई समय दिनेलगायतका विषयमा छलफल भएको बताउनुभयो ।
बैठकमा कार्यव्यवस्था परामर्श समितिको पुनर्गठन, संसदीय सुनुवाई समितिको सभापति चयन, संघीय संसद्को संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति गठन, प्रतिनिधि सभा अन्त्रगतको कृषि समितिको सभापति चयन, संसदमा रहेका विधेयकलाई अगाडी बढाउने लगायतका विषयमा छलफल भएको हो ।








प्रतिक्रिया राख्नुहोस्