विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताउनुभएको छ ।
प्रहरी प्रधान कार्यालयको स्थलगत अनुगमनपछि सम्बोधन गर्दै उहाँले संविधान र कानुनमा लेखेको कुरा आफै कार्यान्वयन हुँदैन भन्नुभयो ।
“संविधानमा धेरै मौलिक हकका कुरा गरेका छौँ, राज्य र नागरिकका सम्बन्धका कुरा गरेका छौँ ” गृहमन्त्री लेखकले भन्नुभयो, “ती आफै परिचालित र क्रियाशील हुने होइनन् ।” उहाँले लोकतन्त्रको आधारभूत मान्यता भनेको विधिको शासन भएको बताउनुभयो । “लोकतन्त्र कुनै अमूर्त विषय होइन ” उहाँले भन्नुभयो,“नेताहरूले भाषण गर्ने र नागरिकले भाषण सुन्ने विषय मात्रै पनि होइन, लोकतन्त्रको आधारभूत मान्यता हुन्छन्, विधिको शासन पनि एउटा मान्यता हो ।” निष्पक्षता, पारदर्शीता र व्यावसायिकतामा कमी हुन नदिन निर्देशन समेत उहाँले दिनुभयो ।

“उच्च मनोबलका साथ काम गर्नुहोला, प्रहरीको मनोबल उच्च राख्नको लागि र मनोबल उच्च रहिरहनका लागि प्रेरणादायी काम गर्न मन्त्रालयले गर्नेछ ” गृहमन्त्री लेखकले भन्नुभयो, “ हामी त्यसमा प्रतिबद्ध छौँ ।” गृह प्रशासन आफ्ना लागि नयाँ अनुभव भए पनि संसद्मा कानुन र संविधान निर्माणको क्षेत्रमा काम गर्ने अवसर लामो समयदेखि पाएको उहाँको भनाइ थियो ।
“नेपाल प्रहरी इतिहास बोकेको गर्व गर्न लायक संस्था हो ।” उहाँले भन्नुभयो,“कानुनी व्यवस्था कायम गर्ने,अपराध नियन्त्रण गर्ने सवालका साथै मुलुक र समाजलाई न्याय दिने सवालमा प्रहरीको अहम् भूमिका रहेको छ ।” सीमित स्रोतसाधन र जनशक्तिकाबीच प्रहरीले काम गरिरहेको जनाउँदै गृहमन्त्री लेखकले भन्नुभयो,“प्रहरी सङ्गठन थप सुदृढ र क्रियाशील बनाउन प्रहरी ऐन संशोधन आवश्यक छ ।”
उहाँले प्रहरीसम्बन्धी सबै कानुन समसामयिक रुपमा पुनवराकोलन र संशोधन गर्न प्रहरी ऐन २०१२ लाई संसद्मा पु¥याउने गतिमा अघि बढ्नेमा जोड दिनुभयो । कानुन बमोजिम काम गर्नुका साथै प्रहरीमा कुनै प्रकारको अवाञ्छित दबाब र प्रहरी संस्थाको दुरुपयोग गर्न नहुने उहाँको भनाइ छ ।

“मानिसले बिरामी परे डाक्टर र विपत् परे प्रहरीलाई सम्झिने गरेको” उहाँले भन्नुभयो,“त्यस कारण प्रहरी समाजको डाक्टर पनि हो, किनभने दुःख पीडा र अप्ठ्यारोमा परेको मानिसले तपाईँहरूलाई सम्झिन्छ ।”
सो अवसरमा गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरको उपस्थिति रहेको थियो ।
मन्त्री लेखकको प्रहरी प्रधान कार्यालयमा रहेको अमर सहिद प्रहरीको शालिकमा माल्यार्पण गर्नुका साथै विभिन्न विभागको अनुगमन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्