तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगरपालिकाले पर्यटन विज्ञ सम्मेलन गर्ने 

चितवन । भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय पर्यटन विज्ञ सम्मेलन २०२४ गर्ने भएको छ । आगामी ६ महिना भित्रमा ५० भन्दा बढी देशका विज्ञहरूलाई निमन्त्रणा गरी अन्तर्राष्ट्रिय पर्यटन विज्ञ सम्मेलन २०२४ गर्ने भएको हो ।

घुमौँ भरतपुर २०२४ लाई सफल बनाउन र दिगो पर्यटन बिकास गर्ने उद्देश्यले महानगरले अन्तर्राष्ट्रिय पर्यटन विज्ञ सम्मेलन २०२४ गर्न लागिएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो  ।

दाहालका अनुसार विज्ञ सम्मेलनमा बेलायत, मलेसिया, म्यानमार, अष्ट्रेलिया, बङ्गलादेश लगायतका ५० भन्दा बढी राष्ट्रका विज्ञहरू सहभागी हुनेछन् । उक्त सम्मेलनमा कानुन विज्ञ, डाक्टर, वकिल, इन्जिनियर, पुर्वमन्त्रीहरु, पत्रकारहरू लगायतका क्षेत्रका अब्बल र लब्ध प्रतिष्ठित व्यक्तिहरूलाई सहभागिता गराइने लक्ष्य छ । ‘आर्ट डु’ इन्टरनेशनल नामक संस्थाका अध्यक्ष दिवस घिमिरेका अनुसार अधिकांश देशहरूमा पुगेर निमन्त्रणा गर्ने काम भइसकेको र बाँकी १६ राष्ट्रका विज्ञहरूलाई मात्र निमन्त्रणा गर्ने र महानगरको भ्रमण वर्षको झण्डा प्रदान गर्न बाँकी छ । 

यु आनका महासचिव वान कि मुनलाइ भने महानगरले विशेष निमन्त्रणा गर्ने छ । अध्यक्ष घिमिरे भोलि देखिनै  बुधबार गैर आवासीय नेपाली संघ कतारको निमन्त्रणामा भ्रमण वर्षको झण्डा बोकेर कतार जाँदै हुनुहुन्छ । कतारमा रहँदा उनले नेपाल,कतार र घुमौँ भरतपुरको ब्यानर सहित कार्यक्रम गर्ने र त्यहाँका विज्ञहरूलाई निमन्त्रणा गर्नेछन् ।

भरतपुर महानगरपालिकाले ‘आर्ट डु’ इन्टरनेशनल नामक संस्थासँग सहकार्य र समन्वय गरेर ६ महिना भित्रमा ५० भन्दा बढी देशका विज्ञहरूलाई निमन्त्रणा गराइ अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन २०२४ गर्न लागेको हो । 

अध्यक्ष घिमिरेले मङ्गलबार भरतपुर महानगरका प्रमुख रेनु दाहाल तथा उप प्रमुख चित्रसेन अधिकारीलाई १६ वटा राष्ट्रका झण्डा समेत प्रदान गरेका छन् । सोही अवसरमा अध्यक्ष घिमिरेलाई भ्रमण वर्षको झण्डा प्रदान गर्दै नगर प्रमुख दाहालले कतार यात्राको शुभकामना समेत दिनुभयो  । अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनले भरतपुरमा नयाँ तरङ्ग ल्याउने बताउँदै प्रमुख दाहालले यो सम्मेलन भरतपुरको लागि निकै महत्वपूर्ण हुने अपेक्षा गरिएको बताउनु भयो । 

यस्तै नगर उप प्रमुख चित्रसेन अधिकारीले यो सम्मेलन भरतपुर महानगरपालिकाको लागि मात्र नभई चितवन सहित देशकै लागि नयाँ र फरक खालको हुने बताउनुभयो  । पर्यटन क्षेत्रमा दिगोपना ल्याउनका लागि पनि यो सम्मेलन निकै अर्थपूर्ण रहने उपप्रमुख अधिकारीको भनाई छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button