चितवनमा विपद व्यवस्थापनको लागि समिति गठन
सरोकारवाला निकाय २४ सै घण्टा अलर्ट

चितवन । जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समिति नै गठन गरेर पूर्वतयारी गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार डिभिजन सडक कार्यालय, स्थानीय तह, प्रहरी तथा सशस्त्र प्रहरीलगायतका सरोकारवाला निकायहरू सम्मिलित समितिले विपद्को प्रतिकार्य गर्न जुनसुकै अवस्थामा पनि पूर्वतयारी भएर बस्ने गरी तयारी थालिएको हो ।
‘विपद् आयो भने तत्काल अस्थायी बासस्थानको व्यवस्था मिलाउने, उद्धार र राहतका लागि तयारी हुनेजस्ता कामको तयारी गरिएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो , ‘प्रत्येक स्थानीय तहमा आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरेका छौँ । त्यसमार्फत जोखिमयुक्त क्षेत्रको नियमित निगरानी हुनेछ ।’
आपतकालीन कार्यसञ्चालन केन्द्र तीनै तहको सरकारले स्थापना गरेको हुँदा ती सबै केन्द्रले एकापसमा समन्वयात्मक रुपमा काम गर्ने उहाँले बताउनु भयो । विपद्मा परेकाहरूको उद्धार र राहतको आवश्यक पूर्वतयारी गरेको उहाँको भनाई छ ।
देशकै ‘जीवन रेखा’ भनेर चिनिएको नारायणगढ–मुग्लिन सडकको जोखिमलाई मध्यनजर गर्दै जोखिमयुक्त क्षेत्रलक्षित पाँच स्थानमा डोजर, एक्साभेटर तथा लोडरजस्ता ‘हेभी इक्विपमेन्ट’ राख्ने व्यवस्था मिलाइसकेको उहाँले बताउनु भयो । ‘सडकले आफ्नो जिम्मेवारीभित्र पर्ने नारायणगढ–मुग्लिन सडकमा हुने जोखिम र त्यसबाट यात्रुले भोग्नुपर्ने सास्तीलाई ध्यानमा राखेर विपद् व्यवस्थापनको पूर्वतयारी गरिरहेको छ । हामीले यो सडकखण्डमा २४ सै घण्टा अलर्ट गर्ने व्यवस्था मिलाएका छौँ ।’ उहाँले भन्नुभयो ।
पहिराका कारण लामो समयसम्म सडक अवरूद्ध हुँदा यात्रुले समयमै गन्तव्य पुग्नबाट वञ्चित भएका विषयलाई जिल्ला विपद् व्यवस्थापन समितिले प्राथमिकतामा राखेर काम गर्ने उहाँको भनाइ छ । नारायणगढ–मुग्लिन सडकखण्डमा ठूला पहिरो खस्दा निरन्तर ३६ घण्टासम्म पनि सडक अवरूद्ध भएका उदाहरण छन् । त्यसकारण जोखिमयुक्त क्षेत्रलक्षित पहिरो पन्छाउनका लागि आवश्यक पूर्वतयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार सशस्त्र प्रहरीले समेत आवश्यकता हेरी विभिन्न स्थानमा अस्थायी सुरक्षा पोस्ट स्थापना गर्ने तयारी भइरहेको छ । ‘विपद्का बेला सबैले एकसाथ काम गर्नुपर्छ, विपद्को सामना एक्लैले गरेर सम्भव हुँदैन’, उनले भने, ‘तसर्थ स्थानीय तह, सुरक्षा निकाय, सडक कार्यालयलगायत सरोकारवाला निकाय सबै अलर्टमै छौँ ।’
सम्भावित जोखिमयुक्त क्षेत्रमा संयमता अपनाउन र सतर्क रहन आवश्यक प्रचारप्रसारसमेत गर्दै आएको उहाँको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्