तपाईँ सुन्दै हुनुहुन्छः

सूचना र सञ्चारका लागि चलचित्र क्षेत्र सशक्त र प्रभावकारी माध्यम : मन्त्री शर्मा

धनगढी । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सांस्कृतिक रूपान्तरण, संविधान र कानुनले गरेका व्यवस्थालाई कार्यान्वयन गर्न चलचित्र क्षेत्र प्रभावकारी माध्यम भएको बताउनुभएको छ ।

धनगढीमा आज राष्ट्रिय बाल चलचित्र महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले चलचित्र क्षेत्र सूचना र सञ्चारका लागि अत्यन्तै सशक्त र प्रभावकारी माध्यम भएको बताउनुभयो ।

मन्त्री शर्माले बालबालिकाहरूका क्षमता, प्रतिभालाई राज्यको मुल प्रवाहमा जोड्न र चलचित्र क्षेत्रमा बालबालिकाको आकर्षण बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले शारीरिक अपाङ्गता भएका कला क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बालबालिकालाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शर्माले साँस्कृतिक परिवर्तन, नयाँ प्रतिभाको खोजी र समग्र चलचित्र क्षेत्रको विकासका लागि महोत्सवले थप टेवा पुर्‍याउने बताउनुभयो । उहाँले जातीय छुवाछुत, छाउपडी प्रथा जस्ता कुसंस्कार र कुरुतीले किशोरी मारिएका छन् भन्नुहुँदै त्यस्ता सामाजिक कुसंस्कार, कुरुतीका विरुद्ध चलचित्रका माध्यमबाट भूमिका खेल्नुपर्ने र त्यसका लागि सरकारले बजेटको व्यवस्था गर्ने बताउनुभयो।

मन्त्री शर्माले आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले सबैलाई अधिकार र अवसर दिएको उल्लेख गर्नुहुँदै बालबालिकाले समेत आफ्नो रुचिका क्षेत्रमा लाग्नुपर्ने बताउनुभयो । उहाँले सुदूरपश्चिम प्रदेश कला संस्कृतिका क्षेत्रमा महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र भएको र यसको विकासमा सरकार कटिबद्ध रहेको बताउनुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा राष्ट्रियसभा सदस्य रुपा स्वसी चौधरी, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टिएन जोशी, रेडियो नेपाल सञ्चालक समितिका सदस्य भिम मल्ल, चलचित्रकर्मी अम्बिका जोशीले बाल चलचित्र महोत्सवले सुदूरपश्चिमका बाल कलाकारलाई चलचित्रको राष्ट्रिय मूलधारसँग जोड्ने विश्वास ब्यक्त गर्नुभयो ।

समारोहमा चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने ७ जना कलाकारलाई मन्त्री शर्मा सम्मानपत्र प्रदान गर्नुभयो । सो अवसरमा बालबालिकाहरूले विभिन्न साँस्कृतिक प्रस्तुति गरेका थिए ।

आजदेखि तीन दिनसम्म चल्ने बाल चलचित्र महोत्सवमा बाल चलचित्र प्रदर्शनी, बाल कलाकारका प्रस्तुति, बाल संवाद, फोटो प्रदर्शनी लगायतका गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button