तपाईँ सुन्दै हुनुहुन्छः

हिमा गाउँपालिकामा दोस्रो बृहत् पढाई मेला हुँदै

जुम्ला । हिमा गाउँपालिकामा दोस्रो पटक बृहत् पढाई मेला हुने भएको छ । हिमाले गत वर्षदेखि आयोजना गर्दै आएको पढाई मेला यस वर्ष पनि गर्ने भएको हो । विद्यार्थीको शिक्षण सिकाई वृद्धि तथा शिक्षा सुधारमा अभिभावक,शिक्षक,अन्य सरोकारवालालाई जिम्मेवार बनाउन र बालबालिकाको प्रतिभा क्षमता प्रदर्शन तथा प्रोत्साहन गर्न हिमाले पढाई मेलाको आयोजना गर्न लागेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताउनुभयो । जिल्लामै पहिलो नमुना कार्यका रुपमा आयोजना हुन लागेको पढाई मेलालाई सफल बनाउन गाउँपालिकाले तयारीलाई तीव्रता दिइएको छ । 

असार ५ र ६ गते सञ्चालन हुने मेलामा समग्र जिल्लाका प्रबुद्ध व्यक्तिलाई निम्तो दिइएको छ । मेलामा पढाइ सामाग्री तथा पाठ्य पुस्तक पनि प्रदर्शन गरिने छ । बालबालिकाले निर्माण गरेका विभिन्न सामाग्री समेत प्रदर्शन गरिने छ । 

हिमा गाउँपालिकाको आयोजनामा पढाई मेलाको आयोजना गरिएको हो । हिमामा विद्यालयहरूले गरेका नमुना अभ्यासहरू पनि एक आपसमा आदान प्रदान हुने छन् । हिमा गाउँपालिकाको रुपाकोट आधारभूत विद्यालयले मेलाको आयोजना गर्ने छ । 

हिमा गाउँपालिका शिक्षा शाखा प्रमुख दन्त बहादुर शाहीले शिक्षा क्षेत्रको विकासमा पढाई मेलाले इँटा थपेको बताउनुभयो । उहाँका अनुसार पढाई मेलामा शिक्षक र बिद्यार्थीहरुको भेला सँगै शिक्षण सिकाइका क्रियाकलाप र विभिन्न प्रतियोगिता पनि आयोजना गरिने छ । पढाई मेलाले सामुदायिक विद्यालय तथा शिक्षण विधि सुधारमा सबैको ध्यानाकर्षण समेत गराउने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button