तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुरमा बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल हुँदै

बाँके । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने राष्ट्रिय नाराका साथ आजदेखि कोहलपुरमा बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

कोहलपुरस्थित तेह्र विगाह फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा कोहलपुर रेसिङ सहारा क्लब र नेपालगञ्ज धम्बोझी क्लबबिच प्रतिस्पर्धा हुनेछ । असारको १३ गतेसम्म चल्ने प्रतियोगितामा बाँके जिल्ला फुटबल सङ्घसँग आबद्ध ९ क्लबको सहभागिता रहेको छ ।

लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा सहभागी क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकाँदो युवा स्पोर्टस् क्लब रहेका छन् । यसैगरी समूह ‘बी’ मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगञ्ज एफसी र ओसोनिक क्लब रहेका छन् । समूह ‘ए’ र समूह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

दुई साता अघि बाँके जिल्ला फुटबल सङ्घले कोहलपुरमै जिल्ला स्तरीय (बि–डिभिजन’ नकआउट फुटबल प्रतियोगिता गरेको थियो । आजबाट हुने जिल्ला लिग फुटबलले बाँके जिल्लाबाट स्तरीय खेलाडी उत्पादनमा सहयोग गर्ने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनुभयो । फाइनलमा जित हासिल गर्ने टोली जिल्लाको लिग च्याम्पियन बन्नेछ ।

नेपालगञ्ज रङ्गशालामा सिन्थेटिक ट्रयाक निर्माण कार्य चलिरहेकोले कोहलपुरमा प्रतियोगिता आयोजना गर्नुपरेको आयोजकले बताएको छ । सुरुवातमा नेपालगञ्जमा आयोजना गर्ने तयारी भए पनि अन्तिम समयमा आएर कोहलपुरमा प्रतियोगिता गर्नुपरेको अध्यक्ष शाहीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button