तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा गर्मीका कारण ज्याला मजदुर गर्ने बढी मर्कामा

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका २ घसेटि हरिजन मध्यान्हको चर्को गर्मीसँगै शरीरमा खलखल पसिना बगेपनि आगोको रापमा बसेर फलाम पिटिरहनु हुन्छ।

आरान व्यवसाय गर्दै जीविकोपार्जन गर्नु भएका हरिजनलाई ४२डिग्री माथिको गर्मीमा आगो बालेर फलाम तताउनु कुनै रहर छैन । ५ जनाको परिवार पाल्ने अन्य कुनै विकल्प नहुँदा जस्तोसुकै गर्मी अथवा मौसमी अनुकूलतामा पनि काम गर्नुपर्ने बाध्यता भएको हरिजन बताउनु हुन्छ।

चर्को गर्मी र तातो हावामा स्थानीय घरभित्र पङ्खा चलाएर बसिरहँदा बर्दिया जिल्ला बारबर्दिया नगरपालिका खुरखुरे फाटा सुकुम्बासी शिविरकी राधा बिक मकै ल्याएर नेपालगन्जको धम्बोजि चोकमा मकै बेच्न बस्नु भएको छ। ६ जनाको परिवार पाल्न श्रीमानले गर्ने मजदुरीको कमाइले मात्र नपुग्ने भएपछि गर्मीलाई बिर्सिँदै मकै पोलेर बेच्ने गरेको बताउनु हुन्छ।

घसेटि हरिजन र राधा बिक जस्तै बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ७ का आरिफ खान पिठ्युँ भरि इट्टाको चाङ लगाएर निर्माण हुन लागेको घरको तिन तला माथि पुग्नुहुन्छ। घर निर्माण कार्यमा मजदुरी गर्दै आउनु भएका खानले यो गर्मीमा यसरी काम नगरे नौ जनाको परिवार भोकै पर्छन्। सरकारले चर्को गर्मीको समयमा आफूहरू जस्ता विपन्न परिवारलाई राहत दिनुपर्ने उहाँको माग छ।

अत्यधिक गर्मीका कारण नेपालगन्जमा लु चलिरहेको बेला सडकमा भेटिएका सर्वसाधारण हरुले काम नगरी हातमुख जोर्न नसकिने भएकाले चर्को गर्मीमा ज्यानको जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता भएको बताएका छन् ।

जस्तोसुकै गर्मी भएपनि विपन्नता सङ्ग जुधिरहेका नागरिकहरूलाई काम नगरी खानै पुग्दैन। चिकित्सकले गर्मीबाट जोगिन झोलिलो खानेकुरा खानुको साथै अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन अनुरोध गरेका छन् तर कामको खोजीमा विभिन्न जिल्लाका साथै छिमेकीमूलक भारतबाट नेपालगन्ज शहरमा आएकाहरूको भने दिनभरि काम नगरी बिहान बेलुकाको चुल्हो बाल्न मुस्किल हुन्छ। यही बाध्यताका कारण गर्मीलाई चुनौती दिँदै ज्यानको बाजि लगाएर विपन्न वर्गका नागरिक चर्को गर्मीको रापमा काम गर्न बाध्य छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button