तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको संस्थागत सुधारका विषयमा छलफल

काठमाडौँ । रेडियो नेपालमा क्रियाशील सङ्गठनहरूले सञ्चालक समितिका सदस्य द्वयलाई रेडियो नेपालको वस्तुस्थिति एवम् समग्र संस्थाको सुधारका बारेमा जानकारी गराएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रेडियो नेपाल र प्रेस सेन्टर नेपाल, रेडियो नेपाल शाखाले सञ्चालक समिति द्वय तिलकजंग बुढाथोकी र भीम मल्ललाई स्वागत गर्दै रेडियो नेपालको समग्र संस्थाको अवस्था सुधार गर्नुपर्ने पक्षमा छलफल गरेको हो ।

कार्यक्रममा सञ्चालक समिति सदस्य तिलकजंग बुढाथोकीले रेडियो नेपालको समग्र अवस्थाबारे जानकारी गराउँदै यसको विकास एवम् सुधारका लागि आफु योजनाबद्ध ढङ्गबाट अघि बढ्ने बताउनुभयो ।

समिति सदस्य बुढाथोकीले रेडियो नेपालको संस्थागत सुधार गर्नै पर्ने आवश्यकता रहेको बताउँदै सञ्चालक समिति अबका दिनमा परिवर्तन उन्मुख विषयमा केन्द्रित हुने धारणा राख्नुभयो ।

छलफलमा सञ्चालक समिति सदस्य भीम मल्लले मुलुकमा राजनीतिक परिवर्तनसँगै रेडियो नेपालको रूपान्तरण आवश्यक रहेको बताउँदै समग्र पक्षको सुधारमा आफु अग्रसर हुने बताउनुभयो ।

समिति सदस्य मल्लले कहीँ कतै बेथितिहरू भए त्यसको अन्त्य गर्दै आगामी दिनमा आफ्नो ठाउँबाट रेडियो नेपालको सुधारमा आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रेडियो नेपाल र प्रेस सेन्टर नेपाल, रेडियो नेपाल शाखाले रेडियो नेपाल केन्द्रिय कार्यालय सिंहदरबारमा सञ्चालक समिति सदस्यलाई स्वागत तथा रेडियो नेपालका सुधारका विषयमा आज अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button