मिडिया काउन्सिल संसद्को मातहत राख्नुपर्नेमा विज्ञहरुको जोड

काठमाडौँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा आज पनि मिडिया काउन्सिल विधेयक २०८० माथि विज्ञहरूसहित छलफल भएको छ ।
छलफलमा सञ्चार क्षेत्रका विज्ञहरूले मिडिया काउन्सिललाई संसद्प्रति जबाफदेही बनाउनुपर्ने र सरकारको विभागका रुपमा नभई स्वतन्त्र निकायका रुपमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
विज्ञहरूले छलफलका क्रममा मिडिया काउन्सिल विधेयकले संविधानले दिएको अधिकार नै कुण्ठित गरेमा विधेयक पत्रकारहरूलाई मान्य नहुने र यसअघि विज्ञले दिएको सुझावलाई विधेयकमा ग्रहण गर्नुपर्ने बताउनुभयो ।
छलफलमा सांसदहरुले प्रेस जगत राज्यको चौथो अङ्ग भएकाले यसले राजनीतिलाई बाटो देखाउनुपर्ने, विधेयकले पत्रकारिता क्षेत्रलाई बाँध्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले विधेयकको सैद्धान्तिक पक्षमा स्पष्ट हुनुपर्ने, काउन्सिललाई सरकारले आफ्नो नियन्त्रणमा राख्न खोज्ने र अन्य निकायले सरकारले नियमन गर्न नहुने भन्नु विरोधाभास भएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्