तपाईँ सुन्दै हुनुहुन्छः

दैनिक एक क्विन्टल कुरिलो उत्पादन, स्थानीय उपभोक्ताको खोजीमा किसान

नवलपुर । किसान पदम बहादुर मोक्तानको बारीमा कुरिलोका बोटहरू देख्दा पनि रहर लाग्दो छ । 

कुरिलो खेतीको हरियाे फाँट देखेर मनै लोभ्याउँछ । उहाँको काम पनि त्यस्तै लोभ लाग्दो छ । उहाँले नवलपरासी पूर्व (नवलपुरको ) मध्यविन्दु –३ ब्रम्हस्थानमा विगत तीन वर्षदेखि कुरिलो खेती गर्दै आउनुभएको छ । 

यतिबेला कुरिलोको सिजन हो । त्यसैले पनि उहाँलाई कुरिलो टिप्न, मुठा पार्न अनि बजार पठाउन भ्याइनभ्याई हुन्छ । तर किसान मोक्तानलाई कुरिलोको खपत जिल्ला भित्रै गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । धेरै भन्दा धेरै खपत नवलपुरमै  भइदिए आफूले लिएको उद्देश्य पुरा हुने थियो भन्ने उहाँको सोच छ । 

कुरिलो स्वास्थ्यका लागि पनि राम्रो मानिने औषधीय गुण भएको र यसमा धेरै विषादीको पनि प्रयोग गर्न नपर्ने हुँदा नियमित रुपमा कुरिलो सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको उहाँ बताउनुहुन्छ । तर कुरिलोको खपत जिल्लामा त्यति धेरै नहुँदा उहाँको मन त्यति खुसी छैन  । ‘म चाहन्छु यहाँका हरेक घरघरमा कुरिलोको नियमित सेवन गर्ने बानी बसोस् । कुरिलो स्वास्थ्यका लागि पनि  राम्रो छ । अर्कोतर्फ स्थानीय उत्पादनको प्रवर्द्धन हुन्छ । जसले मलाई कृषि पेशामा सधैँभरि लागिराख्न हौसला दिनेछ । मैले यहाँका बासिन्दालाई स्वास्थ्यकर उत्पादन उपलब्ध गराउन पाइराखूँ ।’  मोक्तानले भन्नुभयो – ‘कुरिलो अन्य तरकारीको तुलनामा केही महँगो छ तर यसको फाइदा पनि धेरै छ । हामी बोइलर कुखुराको मासु खान्छौ तर कुरिलो किन्दैनौ , बोइलरको मूल्य र कुरिलोको मूल्य उस्तै उस्तै छ , तर हामी मासु किन्छौ कुरिलो किन्दैनौ । हामीले बानी नै पारेका छैनौ । ’

मोक्तानले अहिले अढाई बिगाहा क्षेत्रफलमा कुरिलो खेती गर्नुभएको छ । जसबाट दैनिक ८० देखी एक सय किलो कुरिलो उत्पादन हुन्छ । जसमध्ये  दैनिक ५० केजी   नवलपुरको बजारमा खपत हुन्छ भने , बाँकी रहेको काठमान्डु नारायणगढ , पोखरा लगायतका  बजारमा पठाउनुहुन्छ । यस वर्ष लामो खडेरीका कारण उत्पादन त्यति राम्रो नभएको उहाँको भनाई छ । गत वर्ष डेढ बिगाहामा कुरिलो खेती गर्दा दैनिक १२०  किलोसम्म उत्पादन भएको उहाँले बताउनुभयो । गत वर्ष उहाँले १६ लाख रुपैयाँको कुरिलो बिक्री गर्नुभएको थियो । नौ लाख  लगानी लागेको र ७ लाख रुपैयाँ नाफा भएको उहाँले बताउनुभयो ।  यस वर्षको सिजन चलिराखेको र उत्पादन  सकिएपछि सबै हिसाब गरेर मात्रै आम्दानी थाहा हुने उहाँले जानकारी दिनुभयो ।

कुरिलोको बजार मूल्य अहिले प्रतिकिलो  तीन सय रुपैयाँ रहेको छ । थोकमा अढाई सय रुपैयाँमा उहाँले बिक्री  गर्दै आएको बताउनुभयो । फर्ममै आएर लैजानेलाई खुद्रा मूल्य तीन सयमै  बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । 

कुरिलोको खपत जिल्लामा बढाउनका लागि खेती गरेको पहिलो वर्षदेखि नै लागि परेको उहाँ बताउनुहुन्छ । ‘म आफैँ गाडीमा घरघरै कुरिलो बेच्न हिँडे , मण्डी धाए , हाटबजार धाए , त्यसको प्रतिफल केही त देखिएको छ तर सोचेजस्तो  भएको छैन । अहिले त मैले  दुई जना कर्मचारीलाई मोटरसाइकलमा कुरिलो आयो भन्दै होम डेलिभरि समेत गर्दै आएको छु । कुरिलोको फाइदा पनि बताउँदै आएको छु । त्यसैको फल स्वरूप जिल्लामा गत वर्षभन्दा अहिले खपत बढेको छ । तर म चाहन्छु । मैले उत्पादन गरेको सबै जिल्लामै खपत होस् ।’ मोक्तानले भन्नुभयो ।   

मोक्तानको जन्मथलो सर्लाही र कर्मघर काठमान्डु भएपनि उहाँले नवलपुर आई जग्गा भाडामा लिएर, लोट्स कृषि तथा पशु फर्म दर्ता गरि  तरकारी खेती गदै आउनुभएको छ । विगत पाँच वर्षदेखि उहाँले कृषि पेशामा तल्लीन भएर लाग्नुभएको छ । लामो समय विदेशी भूमि मलेसियामा पसिना बगाउनु भएका मोक्तान त्यहाँ गरेजति दुख आफ्नै देशमा गर्न सके कमाउन सकिने बताउनुहुन्छ । 

उहाँले सुरुआती दुई वर्ष बयर खेती गर्नुभएको थियो । तर बयर खेती चमेरा र चराचुरुङ्गीले खाएर नोक्सान पुर्‍याएर घाटामा समेत जानुभयो । तर पनि हार नमानीकन उहाँले तरकारी खेतीलाई निरन्तरता दिनुभयो । उहाँले कुरिलो सँगै घिरौला , भिण्डी , करेला खरबुजा खेती समेत गर्नुभएको छ । अन्य तरकारी भन्दा कुरिलो खेतीबाट राम्रो आम्दानी हुने उहाँको भनाई छ । ‘मैले अरू तरकारी पनि लगाउँछु । सुरुको लटमा राम्रो भाउ हुन्छ, त्यसपछि भारतबाट सस्तोमा तरकारी आउँछ । नेपाली उत्पादनको बजार नै कम हुन्छ । यो निकै ठूलो चुनौतीको विषय बनेको छ हामी किसानका लागि । ’ मोक्तानले भन्नुभयो । 

अहिले चार बिगाहा  क्षेत्रफल भाडामा लिएर उहाँले तरकारी खेती गर्दै आउनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button