तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल सञ्चालक समिति सदस्यमा भीम मल्ल नियुक्त

काठमाडौँ । रेडियो नेपालको सञ्चालक समिति सदस्यमा भीम मल्ल नियुक्त हुनुभएको छ ।

रेडियो प्रसार सेवा विकास समितिको गठन आदेश, २०४१ को दफा २ (क) को उपदफा २ को खण्ड (ग) बमोजिम मल्ल सञ्चालक समिति सदस्यमा नियुक्त हुनुभएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८१ जेठ १ गतेको मन्त्रिस्तरीय निर्णयबाट सल्यानका मल्ललाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको थियो ।

आज बसेको रेडियो नेपाल सञ्चालक समितिको बैठकले सदस्यमा नियुक्त भई आउनु भएका मल्ललाई समितिका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले समितिमा स्वागत गर्नुभयो । अध्यक्ष सुवेदीले सरकारको नीति तथा कार्यक्रम अनुसार रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मिलाएर सार्वजनिक प्रसारणमा रूपान्तरण गरिने बताउनुभयो । साथै उहाँले रेडियो नेपालले सरकारको नीति तथा कार्यक्रम र बजेटलाई विशेष प्राथमिकता दिएर समाचार तथा कार्यक्रमहरू प्रसारण गर्नुपर्ने बताउनुभयो ।

स्वागत कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले रेडियो नेपालको वर्तमान अवस्थाका बारेमा बताउनुभयो । बैठकमा नवनियुक्त सञ्चालक समिति सदस्य मल्ल आफू साङ्गीतिक क्षेत्रबाट आएको र आफूमा भएको ज्ञानलाई रेडियो नेपालमा प्रयोग गरी सङ्गीत क्षेत्रलाई अगाडि बढाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैठकमा समितिका सदस्य तिलक जङ्ग बुढाथोकीको पनि उपस्थित रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button