प्रतिनिधि सभा बैठक: प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा जानकारी गराउन माग

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्खरै गर्नुभएको भारत भ्रमणका विषयमा संसद्मा जानकारी गराउन सरकारकारसँग माग गर्नुभएको छ ।
सांसदहरुले प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएका सम्झौता लगायतका विषयमा संसद्लाई जानकारी गराउनु पर्ने बताउनुभयो ।
सांसदहरूले पर्सा जिल्लाका विभिन्न ठाउँमा हावाहुरी र असिना पानीले सयौँ घरहरू उडाएको, बाली नाली नष्ट गरेको भन्दै समयमा नै राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
सांसदहरुले अछामसहित बाजुरा, कालिकोट, मुगु, हुम्ला लगायतका विकट जिल्लाका बिरामीको उपचार हुँदै आएको बयलपाटा अस्पतालमा प्रदेश सरकारले आवश्यक बजेट नदिएका कारण अस्पताल बन्द हुने अवस्थामा पुगेको भन्दै बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
सांसदहरुले तराईका विभिन्न भागमा खानेपानीको समस्या रहेको भन्दै नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले गिरीबन्धु टि स्टेट, मेलम्ची खानेपानी, वाइडबडी फोरजी लगायत ठूला भ्रष्टाचारका विषयमा सत्यतथ्य छानविन गरी छिटो बाहिर ल्याउन माग गर्नुभयो ।
बैठकमा सांसदहरुले सरकारी कार्यालयमा दर्जनौँ गाडीहरू व्यवारिसे अवस्थामा रहेको र अर्वौको सम्पत्तिको क्षति भएको भन्दै यसको व्यवस्थापनका लागि रुलिङको माग गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्