कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न
विराटनगर । कोशी प्रदेशमा शान्ती सुरक्षा थप सुदृढ बनाउने उद्देश्यले विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।

स्थानीय प्रशासनले कानुन कार्यान्वयनमा पूर्ण सक्रियताका साथ कार्य गर्ने र सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मातहतका निकायलाई थप प्रभावकारी बनाउने साझा प्रतिबद्धतासहित गोष्ठी सम्पन्न भएको हो ।
गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भटाराइले पत्रकार सम्मेलन गरि दुई दिन सम्म चलेको गोष्ठीका निर्णयबारे जानकारी गराउनुभएको थियो ।
नेपाल सरकार गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको संयुक्त आयोजनामा भएको सुरक्षा दुई दिने गोष्ठीमा कोशी प्रदेशका जिल्लाहरूमा देखा परेका सुरक्षा चुनौती, अपराध नियन्त्रण, सेवा प्रवाह, विकास निर्माण, विपद् व्यवस्थापनका पूर्व तयारी र प्रतिकार्य, राजश्व चुहावट नियन्त्रण, प्राकृतिक स्रोतको कानुन सम्मत उपयोग, सार्वजनिक र सरकारी जग्गाको संरक्षण, नेपाल सरकार र प्रदेश सरकार मातहतका निकायहरूको समन्वय सहकार्य लगायतका विषयमा प्रस्तुतीकरण र छलफल भएको प्रवक्ता भट्टराईले जानकारी गराउनुभयो ।

गोष्ठीको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीले कोशी प्रदेशको शान्ती सुरक्षाको अवस्था, विकास निर्माण तथा विपद् व्यवस्थापन रोकथाम एवं न्युनिकरणका लागि प्रदेश सरकारले गरेको तयारीको बारेमा जानकारी गराउनुभएको थियो ।
गोष्ठीमा गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, कोशी प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रदेश तथा जिल्ला तहका सुरक्षा निकायका प्रमुख तथा गृह मन्त्रालय तथा प्रदेश अन्तर्गतका मन्त्रालयको कर्मचारीहरूको सहभागिता थियो ।
गोष्ठीमा कोशी प्रदेश तथा १४ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले आ–आफ्नो जिल्लाको सुरक्षाको अवस्थाका बारेमा जनाकारी गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्