सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
मुख्यमन्त्री सोडारीले सत्ता साझेदार दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
प्रदेश प्रमुखको कार्यालयका सचिव शैलेशराज ढुङ्गानाका अनुसार आर्थिक मामिला मन्त्रीमा सुरेन्द्र पाल र सामाजिक विकास मन्त्रीमा ओमविक्रम भाट नियुक्त हुनुभएको छ ।
यसैगरी वीर बहादुर थापा, अक्कल बहादुर रावल, माया पन्त, हिरासिंह सार्की, लक्ष्मी विकलाई विना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ । नवनियुक्त मन्त्रीहरू पाल, थापा, सार्की एमाले, भाट, रावल, विक माओवादी केन्द्र र माया पन्त एकीकृत समाजवादीका प्रदेशसभा सदस्य रहनुभएको छ ।
यसैबीच नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मन्त्रीहरू पाल, थापा, भाट, सार्की, विक, रावल, पन्तलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो ।
सपथ ग्रहण समारोहमा मुख्यमन्त्री दीर्घ बहादुर सोडारी, सभामुख भिम बहादुर भण्डारी, पूर्व मुख्यमन्त्री, मन्त्रीगण, प्रदेश सभा सदस्य, सरकारी अधिकारी लगायतको सहभागिता रहेको थियो ।
यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका सोडारीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । योसँगै सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।








प्रतिक्रिया राख्नुहोस्