बाँकेका किसानलाई मकै थन्क्याउने चटारो

बाँके । बाँकेको राप्ती सोनारीमा यतिबेला किसानलाई मकै भाँच्न भ्याई नभ्याई हुन थालेको छ । ज्येष्ठ दोस्रो साताबाट मकै भाँच्न सुरु गरेका किसानहरूलाई पाकेको मकै भित्र्याउन चटारो परेको छ ।
बाँकेका खेतीयोग्य जमिनमा लगाइएका मकै पाक्न सुरु भएपछि किसानलाई मकै भाँच्न र थन्क्याउन भ्याई नभ्याई छ । मकै भित्र्याउनुपर्ने भएकाले तराईका जिल्लामा किसानहरू खेतमै व्यस्त हुन थालेका छन् । मकै भाँच्न सुरु गरेका किसानहरू मकै भाँच्ने, दाउनी गर्ने, सुकाउने र भित्र्याउने काममा व्यस्त छन् । राप्ती सोनारीमा सिक्टाको सिचाई का कारण समयमै मकैलाई चाहिने पानी दिन सकेकोले मकै उत्पादन राम्रो भएको राप्ती सोनारी -७ का वडा अध्यक्ष समेत रहेका कृषक राम लखन थारुले बताउनु भयो ।
मौसमले साथ दिइरहेकाले बाँकेमा किसानहरू पाकेको मकै भाँचेर थ्रेसर गर्न थालेका छन् । राप्ती सोनारी-७ का कृषक अमर बहादुर घर्तिले भन्नुभयो “अहिले राप्ती सोनारीमा मात्र नभएर बाँकेका खेतका फाँटहरूमा मकै भाँच्ने, सुकाउने र थ्रेसर गर्ने काममा किसानहरू व्यस्त हुनुहुन्छ ।” बाँके जिल्लामा मकै बाली भित्र्याउने क्रम असार पहिलो सातासम्म रहन्छ । मकै उठाएर किसानहरूलाई बेलैमा धान रोप्ने खेतमा आली लगाउन पनि चटारो छ ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमदका अनुसार जिल्लामा किसानहरुले हाइब्रेट जातका बिउ डिकेसी ९०८१, अरुण २, मनकामना ,डि काल ८३१, पाइनियर ३१ वाई ४५ र नेपालमै उत्पादित रामपुर कम्पोजित लगायतका मकैका जातहरू किसानहरुले लगाउँदै आएका छन् ।

मकैखेती अन्य बाली जस्तो हेरचाह गरिराख्नुपर्ने भएकाले पनि कृषकहरूको आकर्षक बालीका रुपमा मकैखेती पर्दै गएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । नेपालमा खेती गरिँदै आएका बालीहरूमध्ये दोस्रो प्रमुख बालीको रुपमा मकै बाली पर्ने गरेको हो । जिल्लाको डुडुवा गाउँपालिका ६ हिरमिनिया र राप्ती सोनारी गाउँपालिका वडा न-३,४ र ७ लगायतका स्थानमा किसानहरुले व्यावसायिक रूपमै मकैखेती गर्दै आएको कृषि ज्ञान केन्द्रका प्रमुख सकिलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, जिल्लामा बर्खे मकै,हिउँदे र बसन्ते मौसममा मकै खेती हुने गरेको छ ।
उहाँका अनुसार अनुसार बाँकेमा यस वर्ष २ हजार हेक्टर क्षेत्रफलभन्दा बढीमा मकैखेती लगाइएको छ । बाँकेमा मकै बालीलाई आवश्यक पर्ने हावा, पानी र माटो सुहाउँदो भएकैले मकै बाली फस्टाउँदै गएको छ ।








प्रतिक्रिया राख्नुहोस्