कर्णालीको श्रमाधान रोजगार मेला सकियो, पाँच हजारभन्दा बढीले गरे अवलोकन

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित श्रमाधान रोजगार मेलामा ५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कर्णाली प्रदेश र वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा आयोजित दुई दिने मेलामा ४ हजार बेरोजगार श्रमिकसहित रोजगारदाताहरू प्रत्यक्ष लाभान्वित भएको आयोजकले जनाएको छ ।

मेलामा विभिन्न खालका ४० वटा स्टलहरू राखिएका थिए । मेलाबाट रोजगारीका लागि पाँच सयभन्दा बढिले आवेदन फारम भरेका छन् । मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सामाजिक सुरक्षा कोष, एनएमबी बैङ्क, नेपाल उद्योग वाणिज्य महासङ्घ, होटल सिद्धार्थ ग्रुप, नेपाल उद्योग परिसंघ लगायतका विभिन्न खालका स्टलहरू रहेका थिए । मेलामा विभिन्न क्षेत्रबाट सहयोग गर्ने तथा योगदान गर्नेहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

मेलाले विशेषगरी रोजगारदाता र रोजगारी खोज्नेवीच देखिने गरेको खाडल पुरा महत्वपूर्ण भूमिका खेलेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप सचिव टिकाराम ढकालले बताउनुभयो ।

श्रम तथा रोजगार कार्यालय सुर्खेतका श्रम अधिकृत श्रीसमशेर रानाले मेला भव्यताका साथ विविध कार्यक्रमसहित सम्पन्न भएको जानकारी दिनुभयो ।
मेलामा रोजगारी दिने र रोजगारी खोज्नेहरुबीच पुलको काम गरेको र मेलाको उद्देश्य पुरा भएको उहाँका भनाई थियो । मेलामा रोजगारीका लागि फाराम भरेकाहरूलाई पछि सम्बन्धित कम्पनीले बोलाउन छन् । सोही आधारमा उनीहरूले रोजगारी पाउने सम्बन्धित कम्पनीहरूले जनाएका छन् ।

विभिन्न कम्पनीहरूले ३५० भन्दा बढी क्षेत्रमा कर्मचारी माग गरेका थिए । जसमा एक हजार तीन सयभन्दा बढीले आवेदन दिएका थिए ।
मेलामा विभिन्न विषयमा श्रमाधान संवाद कार्यक्रम समेत राखिएको थियो ।









प्रतिक्रिया राख्नुहोस्