तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानी राष्ट्रपतिद्वारा खाद्य सुरक्षा प्रणालीलाई बलियो बनाउन आह्वान

इस्लामाबाद । पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले शुक्रबार सुरक्षित, स्वच्छ र पौष्टिक खाना सुनिश्चित गर्न खाद्य सुरक्षा प्रणालीलाई सुदृढ पार्नु महत्त्वपूर्ण भएको बताउनुभएको छ ।

अनुसन्धानमा लगानी गर्नुका साथै सम्बोधन गर्न नवीनतम प्रविधिको प्रयोग गर्नुपर्ने आवश्यकतालाई उहाँले जोड दिनुभयो ।

“खाद्य सुरक्षा साझा जिम्मेवारी हो । यसमा सबै सरोकारवालाहरूको सामूहिक प्रयास आवश्यक छ । हामीले हाम्रा जनताको हितका लागि खाद्य सुरक्षाको उच्चतम मापदण्डहरू पालना गर्न आवश्यक छ”, राष्ट्रपतिले विश्व खाद्य सुरक्षा दिवसको अवसरमा आफ्नो सन्देशमा भन्नुभयो ।

जरदारीले खाद्यजन्य रोगहरू र विश्वव्यापी महामारीहरू आजकल बढ्दै गएको भन्दै उचित सरसफाइमा जोड दिन र खाद्य प्रणालीको रक्षा गर्न सक्रिय कदमहरू चाल्न जरुरी भएको बताउनुभयो ।

खाद्य सुरक्षाको सन्दर्भमा अप्रत्याशित परिदृश्यका लागि तयारी गर्न खाद्य शृङ्खलामा सम्भावित जोखिम र कमजोरीहरूको पूर्वानुमान र न्यूनीकरण गर्न बलियो उपायहरू लागू गर्न आवश्यक भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “खाद्य निगरानी प्रणालीमा लगानी गर्न, सान्दर्भिक प्रयोगशालाहरूलाई बलियो बनाउन र आपत्कालीन प्रतिक्रिया सुधार गर्न आवश्यक छ ।”

राष्ट्रपति जर्दारीले उत्तम कृषि अभ्यासहरू प्रवर्द्धन गर्नाले खाद्यजन्य रोगहरूको सम्भावना कम गर्न र मुलुकको खाद्य आपूर्तिको गुणस्तर सुधार गर्न मद्दत गर्न सक्ने बताउनुभयो ।

राष्ट्रपतिले टेलिभिजन र अन्य सामाजिक सञ्जालका माध्यमबाट खाद्य सुरक्षा, स्वच्छता र स्वच्छ खानाबारे जनतामा चेतना जगाउन पनि आग्रह गर्नुभयो ।रासस / सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button