पशुपालनमा रमाउँदै थारु, मासिक डेढ लाख आम्दानी
बाँके । बाँकेको कोहलपुर नगरपालिका–६ का रामशरण थारु आजकल बिहान बेलुका गाईवस्तु स्याहारसुसारमा व्यस्त हुनुहुन्छ । दिउँसो कृषि क्षेत्रमा काम गरी बचेको समय जनताको सेवामा समर्पित हुनुहुन्छ ।

थारुको बिहान र बेलुकाको दैनिकी कोहलपुर ६ मा रहेको ‘कृषि फार्म’ मा बित्ने गरेको छ । उहाँले पशुतर्फ व्यावसायिक भैँसीपालन गर्नुभएको छ भने सोही फार्ममा माछा, कुखुरा र बङ्गुरपालन । त्यसैगरी मकै, प्याज र करेलाको खेती पनि उहाँले गर्नुभएको छ । बिहान, बेलुका गोबर सोहोर्नेदेखि घाँस काट्ने र दूध दुहुनुमा नै उहाँको समय बित्ने गर्दछ ।

उहाँको कृषि फार्ममा हाल साना ठुला गरेर ८ वटा भैँसी, माछा, कुखुरा र बङ्गुर छन् । कृषि पेशाको आम्दानीबाट परिवारको आवश्यकता पूर्ति गर्न सहज भएको उहाँको भनाई छ ।

करिब २ बिगाहा ८ कठ्ठा जमिन भाडामा लिएर गरिएको तरकारी खेती, भैँसी, बङ्गुर, कुखुरा र माछा पालनबाट राम्रै आम्दानी भइरहेको छ । उहाँका अनुसार मासिक करिब आठ सयदेखि १ हजार लिटर दूध बिक्री गरी एक लाख रुपैयाँसम्म कमाउने हुने गरेको छ । त्योसँगै कुखुरा, माछा, बङ्गुरबाट पनि राम्रै मुनाफा भइरहेको उहाँले बताउनुभयो । ‘सबै गरी मासिक डेढ लाख जति आम्दानी हुने गर्छ ।’

नेपालमा राजनीति गर्ने र राजनीति गरेका मान्छेले सानातिना काम गर्नहुँदैन भन्ने गलत भाष्य निर्माण हुँदै गएको बेला अरूले पनि थारुबाट केही सिक्नुपर्ने देखिन्छ । गत स्थानीय निर्वाचनबाट कोहलपुर–६ को वडाध्यक्ष हुनुभन्दा पहिला पनि कृषि व्यवसाय गर्दै आउनुभएका थारु कार्यालय समय सकिएपछि कृषि पेसामै रमाउनुहुन्छ ।

राजनीति र जनप्रतिनिधि पेसा नभएर सेवा भएकाले आर्थिक जीवनस्तर उकास्न र अरूलाई उदाहरणीय बन्नका लागि आफू कृषि तथा पशुपालनमा लागेको उहाँको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्