सुझाव समितिद्वारा गृह मन्त्री समक्ष प्रतिवेदन पेश
काठमाडौँ । पूर्व मुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा गठित “गृह मन्त्रालय अन्तरगतका निकायहरूका सेवालाई प्रभावकारी बनाउन गठित सुझाव समिति” ले आज २०८१ जेठ २५ गते माननीय उपप्रधानमन्त्री एवं गृह मन्त्री रवी लामिछानेज्यू समक्ष प्रतिवेदन पेश गरेको छ।

मन्त्रालय अन्तरगतका निकायहरूका सेवालाई प्रभावकारी बनाउन सुझाव सहितको प्रतिवेदन तयार गर्ने उद्देश्यले लागि २०८० साल कार्तिकमा गठित अध्ययन समिति तथा विषयगत उपसमितिलाई प्राप्त कार्यादेश अनुरुप विद्यमान समस्याहरूको पहिचान गरी मन्त्रालयको कार्यसम्पादन क्षमता बढाउन तथा मन्त्रालयले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउनका लागि शान्ति सुव्यवस्था, अपराध अनुसन्धान, संस्थागत पुनर्संरचना, कर्मचारीको कार्य क्षमता वृद्धि, कार्य सम्पादन मापन, नीतिगत तथा कानूनी सुधार, मन्त्रालय अन्तरगतका निकायहरूको संस्थागत सुदृढीकरण, सेवा प्रवाहमा सुधार, विपद व्यवस्थापन, राष्ट्रिय परिचय पत्र व्यवस्थापन, सीमा सुरक्षा र राजश्व चुहावट नियन्त्रण लगायतका विषय समावेश गरी यो प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको थियो।

सोही बमोजिम समितिले मन्त्रालय र मातहत निकायको कार्य सम्पादन सुधार गर्न कर्मचारीको कार्य क्षमता तथा वृत्ति विकासका र सङ्गठन तथा व्यवस्थापन समेत समावेश गरिएको यस प्रतिवेदनमा उक्त विषयमा तत्काल र दीर्घकालमा लागू गर्न सकिने कार्य योजनाहरू पनि प्रस्तुत गरेको कुरा प्रतिवेदन पेश गर्ने समयमा बताइएको छ।
प्रतिवेदन ग्रहण गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कार्यदलले आफूलाई प्राप्त जिम्मेवारी भित्रका विषयमा गहन अध्ययन तथा विश्लेषण गरी प्रतिवेदन तयार गरेकोमा धन्यवाद दिँदै प्रतिवेदनका आधारमा गृह प्रशासन सुधारको मार्गचित्र (Roadmap) तयार गरिने र सो बमोजिम सुधारका कार्यहरू अघि बढाइने बताउनुभयो। साथै उहाँले प्रतिवेदन कार्यान्वयनका क्रममा समेत प्रतिवेदन तयारकर्ता विज्ञहरुको निरन्तर सहयोग आवश्यक हुने र मन्त्रालयलाई आवश्यक परेका बखत विज्ञहरुबाट मन्त्रालयले निरन्तर सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभयो।








प्रतिक्रिया राख्नुहोस्