तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीले प्रतिबद्धता गरिसकेकाले पर्यटन क्षेत्रको अनावश्यक भ्याट र कर हटाइने छ : पर्यटन मन्त्री 

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि यस क्षेत्रमा विभिन्न करहरू हटाउने कुरामा सरकार लागि परेको र संवोधन हुने बताउनुभएकाे छ । 

आज नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स ( नाट्टा ) को ५७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री तामाङले नेपालमा अधिकतम विदेशी पर्यटक ल्याउन नयाँ गन्तव्यको खोजीका साथै पूर्वाधारमा सुधार सहित नयाँ योजना अघि बढाइएको बताउनुभयाे । 

उनले आन्तरिक र बाह्य पर्यटकलाई गर्मी र फुर्सदको मौसममा जान सक्ने गरी इको हिल स्टेसन बनाउने सोचेको र काठमाडौँ उपत्यकासँग जोडिएको महाभारतको श्रृखलामा सरकारको तर्फबाट सरकारले पूर्वाधार तयार पार्ने र सरकार र निजी क्षेत्रले लगानी गर्ने गरी यो योजना अघि बढाइएको बताउनुभयाे । 

“हाम्रो हवाई तथा भू यातायात सहज छैन पर्यटकहरूका लागि , त्यसैले यो पूर्वाधार सुधार गर्ने तिर सरकारले सोचिरहेको छ । साथै , जनकपुर, पशुपति, लुम्बिनी जस्ता स्थलहरूलाई भारत, चीन जस्ता ठूलो जनसङ्ख्या भएका पर्यटकलाई भित्र्याउने र हाम्रो सेवालाई पनि गुणस्तरीय बनाउने र पर्यटकको बसाई लम्ब्याउने हिसाबले पनि सोच्नु पर्छ । ” मन्त्री तामाङले बताउनुभयाे । 

उनले अन्य देशमा जसरी पर्यटकहरूको आगमन छ त्यसरी हाम्रो देशमा आगमन हुन सकेको छैन , यसको समीक्षा गरेर सबै पक्ष मिलेर विश्व पर्यटन बजारमा नयाँ गन्तव्यको खोजी र नयाँ पर्यटकीय उपज सहित प्रवद्र्धनमा जुट्नु पर्नेमा जोड दिनुभयाे । 

विगतमा विभिन्न कमी भएको र गर्न पर्ने जति यो क्षेत्रमा काम हुन नसकेको स्वीकार गर्दै उनले अब नीतिगत रुपमा सुधार गर्ने, पूर्वाधार सुधार गर्ने , नयाँ गन्तव्यको खोजी गर्दै आगामी वर्षहरूमा बाटो तयार गर्न सबै पक्ष लागि पर्नु पर्नेमा जोड दिनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button