बर्दघाटको केराबारीमा प्रहरी पोष्ट स्थापना

नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १५ र १६ को सीमा केराबारीमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले आज एक कार्यक्रमका बिच प्रहरी पोष्टको उद्घाटन गर्नु भएको हो ।उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख श्रेष्ठले समाजमा शान्ती सुरक्षा र अमन चयन नभएमा अन्य बिकास निर्माणले मात्रै अर्थ नराख्ने बताउनु भयो ।लामो प्रयासका बाबजुद संवेदनशील रुपमा लिइएको केराबारी क्षेत्रमा प्रहरी चौकी स्थापना हुनुले तस्करी लगायत अन्य अपराधीक गतिविधि नियन्त्रणमा टेवा पुग्ने उहाँले विश्वास ब्यक्त गर्नु भयो ।केही समय अघि सुनचाँदी व्यवसायीमाथि केराबारीमा गोली प्रहार भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ एवम् प्रहरी उपरीक्षक काजिकुमार आचार्यले अस्थायी प्रहरी चौकीमा सङ्ख्यात्मक रुपमा जनशक्ति कम भएपनी मनोबल भने उच्च राखेर काम गर्ने उल्लेख गर्नु भयो ।कानुन कार्यान्वयनका कुरामा नागरिक मैत्री भएर काम गर्न समेत निर्देशन दिनुभयो ।जिल्लामा प्रहरी जनशक्ति न्यून रहेको र एक जना प्रहरीले ६ सय जना नागरिक लाई सेवा दिनु पर्ने भएकाले नागरिकको साथ र सहयोगले मात्र प्रहरी सफल हुने प्रहरी उपरीक्षक आचार्यले बताउनु भयो ।

बिगत लामो समय देखि तत्कालीन वडा अध्यक्ष सुक बहादुर गुरुङको कार्यकालमा संविधान सभा सदस्य बिक्रम खनालले चौकी स्थापना लागि गरेको पहललाई वर्तमान जनप्रतिनिधिले निरन्तरता दिएर प्रहरी पोष्ट स्थापना गर्न सफल भएको बर्दघाट १६ का वडा अध्यक्ष भिमकाजी गुरुङले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्