तरकारी खेतीबाटै मनग्य आम्दानी गर्दै

बाँके । बाँके बैजनाथका तारा बहादुर रावतलाई पाँच छ वर्ष अघिसम्म आफ्नो खेतमा धान लगाउँदा वर्षभरि खानसमेत पुग्दैनथ्यो । तर, त्यही खेतमा मौसमअनुसारको हरियो तरकारी फलाउन थालेपछि उहाँको आम्दानी मात्रै बढेको छैन दैनिकी नै फेरिएको छ ।
श्रीमती दिलमाया रावतको सहयोगले कृषिमा रमेका तारा गाउँकै दाजुभाई १४–१५जना दिदीबहिनी ए दाजुभाइहरूलाई दैनिक रोजगार समेत दिँदै आउनु भएको छ ।
बाँके जिल्लाको बैजनाथ गापालिका वडा नम्बर दुई दक्षिण लदौरामा पाँच कठ्ठा जग्गामा पचास हजारको लगानीबाट तरकारी खेती लगाउन सुरु गर्नुभएको ताराले अहिले चालीस कठ्ठा जग्गामा मकै अनि मकै भित्र सिजण्टा कम्पनीको वाइभि सेभेन नामको बोडी मात्र लगाउनु भएको छ । आफूलाई युवा कृषक भन्न रुचाउने तारा आफू यहाँ सम्म आइपुग्नुमा श्रीमतीको ठूलो देन भएको बताउनु हुन्छ।
श्रीमतीको साथ अनि आफू सानै देखि रेडियो नेपालको कृषि कार्यक्रम अनि त्यस कार्यक्रममा बज्ने सफल कृषकको सफलताको कथा सुन्दा आफूलाई नि किसान बनौँ बनौँ लाग्ने गरेको र त्यही कथाको प्रेरणाले अहिले आफू एक सफल किसान बनेकोमा गर्व महशुस गर्नुभएको छ ।

तारा भन्नुहुन्छ केही गर्छु भन्ने हरुको लागि नेपालमै केही गर्न सकिन्छ म पनि पहिले यतिकै बरालिएर हिँडेको थिए सुरु सुरुमा कृषि पेशा अपनाउन कहिले किराले खाने कहिले पानीले लगाएको खेती नष्ट गरिदिँदा कस्तो बेला किन कृषि पेसामा लागेछु भनेर पछुतो समेत लाग्दथ्यो तर मैले सुरुका वर्षमा हिम्मत हारिन यसलाई निरन्तरता दिइरहे र आज आएर यो सफलता मिलेको छ। हिम्मत र आत्मविश्वासका साथ काम गर्यो भने एक दिन सफलता मिल्ने ताराको भनाई रहेको छ।
केही गर्छु भन्ने कृषकको लागि स्थानीय तहबाट पनि केही सहयोग हुनुपर्छ र सही कृषक पहिचान गरि कृषक लक्षित कार्यक्रमहरू गर्ने कागजी किसानलाई अनुदान दिने तर सत्यतथ्य नबुझी अनुदान दिँदा असली किसान मर्कामा परेको गुनासो समेत उहाँले गर्नु भएको छ । उहाँले आफूलाई भने स्थानीय तह बैजनाथ गाउँपालिकाबाट प्राविधिक सहयोग बारम्बार पाइरहेको बताउनु भएको छ। आफूले गरेको खेती हेर्न गाउँपालिकाका हाकिम कर्मचारीहरू आउँदा आफूलाई खुसी र प्रेरणा मिल्ने गरेको समेत उहाँले बताउनु भयो।
वर्षको दुई सिजन हिउँदे र बर्खे तरकारी लगाउँदै आउनुभएका ताराले एक सिजनमा खर्च कटाएर ६ लाख बचत गर्ने गर्नुभएको छ। तरकारी खेती सुरु गरेपछि उहाँले ४ कठ्ठा नम्बरी र २ कठ्ठा एलानी जग्गा समेत जोड्नु भयो। सिचाइको लागि दुई ठाउँमा समरसेल बोडिङ्ग समेत गाड्नु भएको छ । कहिले काक्रा कहिले बोडी कहिले टमाटरले ताराको जग्गा भरिभराउ देखिन्छ र उहाँले लगाएको तरकारी टिप्नेको लर्को हेर्दा विदेश तिरको जस्तो लाग्छ।
बारीसम्म बाटोको सुविधा नहुँदा तरकारी टिपेर सडक सम्म पुर्याउन निकै समस्या हुने गरेको गुनासो उहाँको छ। उहाँले पहिलेपहिले तरकारी फलाएर बेच्न धौ धौ हुने गरेको र अहिले गाउँमै व्यापारीका गाडी तरकारी लिन आउने गर्दा बजारीकरणको लागि आफूलाई समस्या नभएको बताउनुभएको छ। दैनिक तीन चार क्विन्टल बोडी उहाँले बिक्री गर्ने गरेको बताउनु भयो।
तारा जस्तो युवाको कृषि मोह देखेर अन्य युवाहरूलाई नि कृषिमा उत्प्रेरित हुन प्रेरणा मिल्नेछ। ताराको कृषिमा मात्र होइन राजनीतिमा पनि उत्तिकै चासो राख्ने गर्नुहुन्छ। आफु तरकारी पेशाबाट एकदमै सन्तुष्ट भएका तारा आफू जस्ता युवाहरूलाई आफ्नो श्रम पसिना बिदेशी भुमिमा खर्चिन भन्दा आफ्नै देशमा केही गरेर खर्चिन अनुरोध समेत गर्नुहुन्छ।







प्रतिक्रिया राख्नुहोस्