तपाईँ सुन्दै हुनुहुन्छः

सहकारीको जोखिम न्यूनीकरण गर्न चितवनमा दोस्रो साकोस समिट हुँदै

चितवन । चितवनमा पछिल्लो समय सहकारीमा देखिएका विकृति विसङ्गति समस्या समाधान र जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित चितवनमा दोस्रो साकोस समिट २०८१ हुने भएको छ ।

यही जेठ २५ र २६ गते सहकारीमा आबद्ध व्यक्तिहरू, सञ्चालक, शेयर धनी एवं विज्ञ सहितको सहभागितामा साकोस समिट गर्न लागिएको हो । चितवन जिल्ला बचत तथा सहकारी सङ्घको आयोजना हुन गइरहेको समिट ४०० जनाको सहभागिता रहने आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष विद्या कोइरालाले पछिल्लो समय सहकारीमा देखिएका समस्याहरू समाधान गर्न तथा विकृति विसङ्गति न्यूनीकरण गर्ने उद्देश्य सहित साकोस समिट गर्न लागिएको जानकारी दिनुभयो ।

संघका पूर्व अध्यक्ष एवं सल्लाहकार तेजेन्द्र खड्काले बचतकर्ताको बचत बचाउन तथा सहकारी प्रतिको आम धारणा चिर्न पनि साकोस समिट गर्न लागिएको बताउनुभयो ।

समिटमा नेपाल सरकार, नेपाल चार्टड एकाउन्टेन्ट एवं बचत तथा ऋण सहकारीमा सफल अभ्यास प्रविधि हस्तान्तरण, संस्थागत विकास, सहजीकरण, सहकारी विकासमा अतुलनीय योगदान गर्ने राष्ट्रिय तथा स्थानीय विज्ञहरुबाट ६ वटा कार्यपत्र प्रस्तुत गरिने छ ।

जिल्लाका सहकारीहरूको विगत, वर्तमान र भावी कार्यदिशामा एकरूपतामा ऐक्यवद्धताकाे विकास गर्न, सहकारीहरूको दिगोपनका लागि साझा धारणा बनाउन, जोखिम व्यवस्थापन र वित्तीय सुशासनको निर्माण गर्न यो कार्यक्रम प्रभावकारी हुने खड्काको भनाई छ ।

दुई दिनसम्म चल्ने कार्यक्रमले वित्तीय सहकारीमा जोखिम मापन न्युनिकरणका उपायहरूको समेत खोजी गर्ने बताइएको छ । साकोस समिट यसअघि २०७३ सालमा पहिलोपटक गरिएको थियो ।

जिल्लामा हाल अहिले बचत तथा ऋण सहकारी संस्था २५५ वटा रहेका छन् भने सङ्घमा मात्र २०५ जना बचत तथा ऋण सहकारी आबद्ध छन् । जिल्लामा सबै विषयगत सहकारीहरू सङ्ख्या ७०० को हाराहारीमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button