तपाईँ सुन्दै हुनुहुन्छः

महिलाहरूका लागी पन्चै बाजा बजाउने तालिम सम्पन्न

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–९ बुचापुरमा १० दिने महिला पन्चै बाजा बजाउने तालिम बुधबार सम्पन्न भएको छ ।

पर्यटन डिभिजन कार्यालय कोहलपुरको आयोजना तथा कला संस्कृति तथा पन्चै बाजा संरक्षण समितिको समन्वयमा भएको तालिमको समापन सत्रमा प्रमुख अतिथि तथा राप्तीसोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले कला र संस्कृतिको संरक्षणमा कला संस्कृति तथा पन्चै बाजा संरक्षण समितिले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।

कार्यक्रममा वडाध्यक्ष थारुले महिलाहरूले पन्चै बाजा तालिम सिकेर समुदायमा नयाँ र सकारात्मक सन्देश दिएको बताउनुभयो । तालिमबाट प्राप्त कला सीप प्रयोग गरी संस्कृति संरक्षणसँगै आर्थिक रूपान्तरणको अभियानमा सहभागी हुन तालिमका सहभागीलाई अध्यक्ष थारुले आग्रह गर्नुभयो ।

गाउँका युवा पलायन हुँदै गर्दा पन्चै बाजा बजाउने सीप हस्तान्तरण हुन नसकेका बेला महिलालाई तालिम प्रदान गरी संस्थाले सकारात्मक कार्य सुरु गरेको स्थानीय अगुवा महिला दुर्गा पौडेलले बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै प्रशिक्षक निम बहादुर परियारलाई कदर पत्रसहित सम्मान गरिएको थियो। पर्यटन कार्यालय कोहलपुरले समितिलाई पन्चै बाजा सेट तथा पोशाक सेट समेत हस्तान्तरण गरेको थियो ।

जेठ १२ गतेदेखी २२ गते सम्म सञ्चालन गरिएको तालिममा राप्तीसोनारी ९ का १५ जना महिलाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button