देवचुली डाँडाको पर्यटन विकासको आधार

नवलपुर । नवलपरासी पूर्व (नवलपुर) को सबैभन्दा अग्लो डाँडा देवचुलीको पर्यटन विकासका लागि यस क्षेत्र वरपरका प्राकृतिक स्रोत साधनको संरक्षण हुनुपर्नेमा स्थानीय सरोकारवालाहरुले जोड दिएका छन् ।
विश्व वातावरण दिवसका दिन आज चुलीबोझामा आयोजित देवचुली डाँडाको पर्यटन विकासमा सरोकारवालाहरूको भूमिका विषय अन्तरक्रियामा बोल्ने वक्ताहरूले सो कुरामा जोड दिएका हुन् ।
देवचुली डाँडा पर्यटन विकास समितिका अध्यक्ष विद्रोही गिरीले प्राकृतिक , धार्मिक, ऐतिहासिक पुरातात्त्विक महत्वको क्षेत्र देवचुली डाँडा नवलपुरको पर्यटन विकासको आधार स्तम्भ भएको बताउनुभयो ।
यहाँको वातावरण, संस्कृति, भाषा तथा स्थानीय रीतिरिवाजको संरक्षणबाट पर्यटकलाई आकर्षण गर्ने सकिन्छ त्यसका लागि यहाँको जैविक विविधताको संरक्षण हुन आवश्यक छ अध्यक्ष गिरीले भन्नुभयो– ‘देवचुलीको कोख भएर उत्तर र दक्षिण बग्ने खोलाहरू, यहाँ पाइने वनस्पतिहरूले मानव जीवनलाई सहज बनाएको छ’ । दिगो विकासको लागि प्राकृतिक स्रोतको संरक्षण र सदुपयोग सही तरिकाले गरिनु पर्नेमा उहाँको जोड रहेको छ ।’
बुलिङटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुसालले स्थानीय जागरूक हुँदा पर्यटन विकासले गति लिने धारणा राख्नुभयो । स्थानीय तहले स्थानीय उत्पादन, संरक्षण र सदुपयोगमा जोड दिने भएकाले समुदाय स्तरमा पनि यस खालको गतिविधि हुनुपर्नेमा उहाँको जोड रहेको छ । देवचुली डाँडा दृश्यावलोकनको हिसाबले मात्रै नभएर जैविक विविधताको धनी क्षेत्र भएकाले यसको विकासमा लाग्न जरुरी भएको बुलिङटार गाउँपालिकाका लेखा अधिकृत बाबुराम तिवारीले बताउनुभयो ।
देवचुली सम्म पुग्ने बाटोको अवस्था राम्रो बनाउन सक्दा पर्यटकलाई थप सेवा मिल्ने बुलिङटार–४ का वडाध्यक्ष मिनबहादुर आलेले बताउनुभयो ।
कार्यक्रममा देवचुली डाँडा पर्यटन विकास समितिका कोषाध्यक्ष हेमलाल बरालले इको क्लबहरू निर्माण गरी विद्यालय स्तरबाट देवचुलीको महत्व बारे जानकारी दिनु पर्ने धारणा राख्नुभयो । समितिका सचिव मनवीर पुलामीले देवचुलीको पर्यटन विकासमा सबै पक्षको हातेमालो जरुरी भएको धारणा राख्नुभयो ।
कार्यक्रममा अर्खला, देउराली, चुलीबोझा, बोझापोखरी, कीर्तिपुर, लगायतका ठाउँका स्थानीयको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्