तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सरकारबाट नेकपा एसका दुई मन्त्रीद्वारा राजीनामा

जनकपुरधाम । मधेश प्रदेश सरकारमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीका दुई जना मन्त्रीले आज राजीनामा दिनुभएको छ ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता एवं मुख्यमन्त्री सरोज कुमार यादवको नेतृत्वमा रहेको सरकारमा रहेका नेकपा एसका संसदीय दलका नेता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने र श्रम तथा यातायातमन्त्री बेचु लुंगेलीले आज पदबाट राजीनामा दिनुभएको हो ।

उहाँहरूले मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा पत्र बुझाउनुभयो । यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्र समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिइसकेका छन् ।

मुख्यमन्त्री सरोज कुमार यादवले भोली जेठ २३ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको थियो । दुई जना मन्त्रीले राजीनामा दिएपछि प्रदेश सरकार थप अल्पमतमा परेको छ ।

अहिले मुख्यमन्त्रीको साथमा नेपाली काँग्रेसका २२, जनता समाजवादी पार्टीका १९ र लोसपाका ८ जनाको समर्थन हुने अवस्था रहेको छ ।

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि चार दलबीच सहमति भइसकेको बताइएको छ । जनमत पार्टीको नेतृत्वमा बन्ने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एस सहभागी हुने जनाइएको छ ।

मधेश प्रदेशमा जनमत पार्टीका १३, नेकपा एमालेका सभामुख सहित २५, नेकपा माओवादी केन्द्रका ९, नेकपा एसका ७ र नागरिक उन्मुक्तिका १ गरेर ५४ पुगेर बहुमत रहेको छ । मधेश प्रदेशमा १०७ जना सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button