विपद्को सामना गर्न तुलसीपुर हाइ अलर्टमा

दाङ । तुलसीपुर उपमहानगरपालिकाले प्राकृतिक विपद्को सामना गर्न २४सै घण्टा जनशक्तिको व्यवस्थापन गर्ने भएको छ ।तुलसीपुर उपमहानगरको विपद्को व्यवस्थापन समितिको आज (सोमबार) बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले आगामी भदौ १५ गतेसम्म डोजर, टिप्पर, कर्मचारी, खोज उद्धारका सामग्री तयारी अवस्थामा राख्ने निर्णय पनि गरेको छ । त्यसैगरी बर्षायाममा फैलन सक्ने झाडापखाला, हैजा जस्ता महामारीको नियन्त्रणका लागि जनस्वास्थ्य प्रवर्द्धन शाखालाई हाई अलर्टमा राख्ने, सुरक्षा निकाय, डिइओसी, रेडक्रसलगायतका संघ संस्थासँगको समन्वयलाई निरन्तरता दिने निर्णय गरेको विपत् व्यवस्थापन शाखाका प्रमुख टोपबहादुर डाँगीले जानकारी दिनुभएको छ ।
बैठकलाई सम्बोधन गर्दै उपमहानगर प्रमुख टिकाराम खड्काले विपद्को सामना गर्न उपमहानगरले कुनै कसुर बाँकी नराख्ने भन्दै तयारी अवस्थामा बस्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो । बर्खायाममा विपद्को जोखिम उच्च हुने भएकाले उद्धारका सामग्रीको कमी हुन नदिन आफू प्रतिबद्ध भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्