प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहेको छ ।
बजेटमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले करको भार नथपी करको दायरा बढाएर राजस्व वृद्धि गर्न सकिने बताउनुभयो ।
उहाँले गैरकानुनी कारोवारहरुलाई बन्द गर्न सकियो भने सोचे भन्दा धेरै राजस्व बढाउन सकिने, गाजा खेतीलाई औषधीजन्य वस्तुका रुपमा विकास र जडीबुटी उत्पादनमा जोड दिएर अर्थ उपार्जन गर्न सकिने बताउनुभयो ।
नेकपा एमालेका सांसद रघुजी पन्तले बजेट कार्यान्वयनमा जान सक्छ की सक्दैन भन्ने कुराले बजेट कति प्रभावकारी छ भन्ने देखाउने भन्दै बजेटले राखेका लक्ष्य र उद्देश्य पुरा हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले ठूला र महत्वपूर्ण आयोजनाहरू पुरा गर्ने तर्फ बजेटले जोड दिनुपर्ने, कृषि, महिला बालबालिका लगायतका क्षेत्रको बजेट घटाउन नहुनेमा सुझाव समेत दिनुभयो ।
नेकपा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले नेपाली जनताको तीव्र विकासको आकाङ्क्षा र चाहना पुरा गर्ने गरी आएको बजेट यथार्थपरक, सन्तुलित र व्यवहारिक रहेको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले बजेट आकर्षक भएपनि कार्यान्वयन भएन भने त्यसको औचित्य नहुने भन्दै बजेटलाई आर्थिक अनुशासनमा राखेर कार्यान्वयनमा लैजान आग्रह गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले हिमाली जिल्लामा असारमा आएको बजेटले काम गर्न नसकिने भएकाले हिमाली जिल्लाका लागि समयको छुट्टै व्यवस्था गर्न माग गर्नुभयो ।
बजेट माथिको छलफलमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र समाजवाद उन्मुख रहेको भन्दै यसको कार्यान्वयनमा जोड दिनुभयो ।
सांसदहरुले बजेटले राष्ट्रिय आवश्यकतालाई ख्याल गर्दै कृषि, भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन र रोजगारीलाई विशेष प्राथमिकतामा राखेको तथा १६औँ योजनाका लक्ष्य पुरा गर्ने गरी बजेट आएको बताउनुभयो ।
सत्तापक्ष दलका सांसदहरुले आन्तरिक उत्पादन तथा उत्पादकत्व बढाएर आन्तरिक राजस्वको अवस्था सुदृढ बनाउने गरी आएको बजेट कार्यान्वयन हुनु पर्नेमा जोड दिनुभयो ।
सांसदहरुले भन्सार तथा आयातमा आधारित राजस्व वृद्धिको प्रवृत्तिलाई चिर्ने प्रयास बजेटले गरेको पनि बताउनुभयो ।
प्रतिपक्षी दलको केही सांसदहरुले भने बजेट अन्यौलता सिर्जना गर्ने खालको रहेको, कुनै मन्त्रालयमा धेरै र कतै अत्यन्त कम बजेट विनियोजन भएको, महत्वपूर्ण र राष्ट्रिय महत्वका विषय नै बजेटमा नसमेटिएको बताउनुभयो ।
छलफलमा सांसदहरुले बजेटको सिद्धान्त तथा प्राथमिकता, वार्षिक नीति तथा कार्यक्रम र बजेटबिच केही तादम्यता मिलाउनु पर्ने, कृषि दशक भनिएकाले कृषिमा पर्याप्त बजेट विनियोजन गर्नु पर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्