तपाईँ सुन्दै हुनुहुन्छः

सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामा प्रहरीद्वारा सार्वजनिक

काठमाडौँ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सिबी लामालाई आज काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको छ ।

लामाविरुद्ध कान्तिपुर बचत तथा ऋण सहकारी लिमिटेडमा रहेको बचतकर्ताको रु एक अर्ब ५१ करोड ठगी गरेको भन्दै आठ सय ५२ जनाले उजुरी दिएका थिए । सोही उजुरीका आधारमा केही दिनअघि पक्राउ परेका उनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टरार्ई विभिन्न सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको रु एक अर्ब ५१ करोड ठगी गरेको अभियोगमा पक्राउ परेका काभ्रे तेमाल गाउँपालिका–५ घर भई हाल ललितपुर बालकुमारी स्थित वस्टेन अपाटमेन्टमा बस्ने ४९ वर्षीया सिबि लामा भन्ने चन्द्रबहादुर तामाङका बारेमा पत्रकारलाई जानकारी दिँदै । तस्बिर : विमलबहादुर बिष्ट/रासस

सिबी लामा भनिने ४९ वर्षे चन्द्रबहादुर तामाङ काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ घर भई हाल ललितपुरको बालकुमारीस्थित वस्टेर्न अपार्टमेन्टमा बस्दै आएका थिए ।

कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले लामाविरुद्ध गत फागुन २० गते काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी दिनुभयो ।

पक्राउ परेका लामाका साथबाट प्रहरीले सामसुङ कम्पनीको दुई थान मोबाइल, नोकियाको एक थान मोबाइल र ६ वटा सीम बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार लामा अध्यक्ष रहेको पशुपति बचत तथा ऋण सहकारी विरुद्ध पनि गत भदौमा ५४ जनाले उजुरी दिएका थिए । उनीविरुद्ध सो सहकारीमा भएको रु १२ करोड रकम हिनामिना गरेको आरोप छ ।

सो सहकारीको रकम अपचलनका सम्बन्धमा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button