तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक : बजेटमाथिको छलफल प्रारम्भ

काठमाडौँ । संघीय संसद्को दुवै सदनमा आजदेखि सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट माथिको छलफल सुरु भएको छ ।

बैठकमा अर्थ मन्त्री वर्षमान पुनले आर्थिक वर्ष.२०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुँदै स्रोतको सङ्कुचन र दबाबबीच आएको बजेट सन्तुलित रहेको र अर्थतन्त्रलाई लयमा फर्काउन सहयोग पुग्ने बताउनुभयो ।

अर्थमन्त्री पुनले आवश्यकता र औचित्यका आधारमा करका दरहरू परिमार्जन गरिएको हुनाले यसले स्वदेशी उत्पादन र उद्योगहरूको संरक्षण गर्ने सरकारको नीतिलाई थप बल पुग्ने स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री निजी क्षेत्रको मनोबल बलियो बनाउने, युवा जनशक्तिलाई देश भित्रै भविष्य खोज्ने र अर्थतन्त्रलाई लयमा फर्काउने गरी बजेट आएको पनि बताउनुभयो ।

प्रतिनिधि सभामा बजेट माथिको छलफलमा भाग लिने सत्ता पक्षका सांसदहरूले बजेटले मुलुकले अहिले सामना गरिरहेको आर्थिक शिथिलतालाई गति दिन सक्ने विश्वासका साथ यसको कार्यान्वयनमा ध्यान पु¥याउनुपर्ने बताउनुभएको छ भने प्रतिपक्षी दलका सांसदहरूले बजेटले मुलुकको प्राथमिकता पहिचान गर्नमा नै चुकेको औंल्याउनुभएको छ ।

बजेट माथिको छलफलमा नेकपा एमालेका सांसद एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले बजेटले कृषिमा लगानी दशक लगायतका राम्रा विषयहरू समेटेको भएपनि कृषि क्षेत्रकै बजेट घटेको हुनाले त्यसमा अर्थमन्त्रीले ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो ।

सांसद पौडेलले आर्थिक सुधारका लागि बजेट निर्माणका क्रममा अर्थमन्त्रीले लिनुभएको जोखिम र समस्या समाधानका लागि लिनुभएको तत्परतालाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो ।

उहाँले बजेट निर्माणका क्रममा सत्ता साझेदार दलहरूसँग पर्याप्त छलफल हुन नसक्दा सबै पक्षलाई समेट्ने र अझै राम्रो बनाउने अवसर भने छुटेको पनि बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटले राष्ट्रिय आवश्यकता र प्राथमिकतालाई सम्बोधन गर्न नसकेको बताउनुभयो ।

उहाँले देशभर पानीको अभाव भइरहेका बेला सरकारले खानेपानीको क्षेत्रमा बजेट कटौती गर्नु र सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत केही मन्त्रालयमा बढी बजेट विनियोजन गर्नुले सरकारले आवश्यकताको मूल्याङ्कन गर्न नसकेको देखाएको बताउनुभयो ।

सांसद डा. महतले आन्तरिक ऋणको भरमा बजेटको आकार बढाउनुले पनि बजेटले लिएका लक्ष्यहरू हासिल गर्न कठिन हुने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले ल्याएको बजेटले मुलुकको अर्थतन्त्रलाई सही दिशामा अघि बढाउन खोजेको उल्लेख गर्नुहुँदै यसको कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसद पौडेलले पछिल्ला १५ वर्षयता जनतामा देखिएको निराशा चिर्ने गरी बजेट आएको हुनाले राजस्व परिचालन र आर्थिक वृद्धिका लागि बजेटले तय गरेका लक्ष्यहरू हासिल गर्न आवश्यक सबै पक्षलाई परिचालन गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

यसअघि, बैठकको सुरुमा नेपाली कांग्रेसका संसद् रामहरि खतिवडाले कानुनविपरित नागरिकलाई सडकमा उभ्याउने काम भएको भन्दै त्यसको विरोध जनाउनुभयो ।

प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद खतिवडाले गृहमन्त्रीको निर्देशनमा विना कानुन ट्राफिक प्रहरी कार्यालयले मापसेमा कारबाहीमा परेकाहरूलाई सडकमा उभ्याएको भन्दै कानुन अनुसार सबैले काम गर्नुपर्ने बताउनुभयो ।

यस्तै, बैठकको शून्य समयमा बोल्ने सांसदहरूले सडक पूर्वाधार निर्माण, खाने पानीमा आम नागरिकको पहुँच विस्तार, गर्मीयाममा विद्युत् कटौती हुँदा नागरिकले खेप्नुपरिरहेको समस्या लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले महेन्द्र राजमार्ग समयमा नै निर्माण हुन नसक्दा नागरिकले समस्या खेपिरहेको, नौबिसे–नागढुङ्गा सडक निर्माण कार्य समयमा सम्पन्न गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरूले गर्मी बढिरहेको समयमा बाँके र बर्दियालगायतका जिल्लामा पटक–पटक विद्युत् कटौतीका हुँदा पङ्खाहरू समेत चलाउन नपाएको र बिरामी लगायतको समस्या बढ्न थालेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै नियमित विद्युत् आपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो ।

यस्तै, प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्ने सांसदहरुले संसद्लाई प्रभावकारी बनाउन, आम नागरिकका समस्या समाधान गर्नेतर्फ ध्यान दिन र संसद्का काम कारबाहीलाई नियमित बनाउन सत्तापक्ष र प्रतिपक्ष दुवै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा नेपाली कांग्रेसका संसद् गगनकुमार थापाले सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिलाई गृहमन्त्री रवि लामिछानेदेखि महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत बयानका लागि बोलाउन सुझाव दिनुभयो ।

सांसद थापाले संसदीय छानबिन समितिको कार्यक्षेत्रमा गृहमन्त्री लामिछानेको नाम उल्लेख नभएपनि गृहमन्त्री लामिछाने छानबिनको दायराबाट बाहिर नरहेको स्पष्ट पार्नुभयो ।

नेकपा एमालेका सांसद दामोदर पौडेलले बैरागीले लामो समय संसद् अवरुद्ध हुँदा समसामयिक रुपमा देखापरेका जनताका विषय, आगलागी, सडक पूर्वाधार निर्माण लगायतका विषय उठाउन नपाएको भन्दै अब बजेट माथिको छलफललाई प्रभावकारी बनाउन सबै लाग्नु पर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असरले ठूला समस्याहरू निम्तिरहेको भन्दै न्युनिकरणका लागि समयमा नै लाग्नुपर्नेमा जोड दिनुभयो ।
सांसद सापकोटाले जलवायु परिवर्तनको असर प्रभावका विषयमा संसद्को भूमिका के रहने भन्ने विषयमा संसद्भित्र गहन रुपमा बहस र छलफल गरेर निक्र्यौलमा पुग्नु पर्नेमा समेत जोड दिनुभयो ।

यस्तै, बैठकमा सांसदहरू मनिष झा, ज्ञानबहादुर शाही, शेरबहादुर कुँवर, विरेन्द्रप्रसाद महतो, रेखा यादव, रामप्रकाश चौधरी, गङ्गाराम चौधरी, प्रेम सुवाल, चित्रबहादुर के.सी, लगायतले संसद् सुचारु भएकाले सांसदहरुले आम नागरिकका समस्या समाधान गर्नेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरुले खानेपानीको अभाव, जमिन मुनीको पानीको मुहान सक्दै जाँदा उत्पन्न भइरहेको समस्या, तराई मधेशमा रहेको खाने पानीको समस्याको दिगो समाधान गर्नुपर्ने लगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक भोली सोमकार बिहान ११ः०० बजे पुनः बस्ने छ भने भोलीको बैठकमा समेत आगामी आर्थिक वर्षको बजेट माथिको छलफल जारी रहने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button