मधेश प्रदेश श्रमाधान रोजगार मेला, करिब ६ हजारले गरे अवलोकन
काठमाडौँ । संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा ‘मधेश प्रदेश श्रमाधान रोजगार मेला’ मधेस प्रदेशको जनकपुरमा सफलतापूर्वक सम्पन्न भएको छ ।
मधेस प्रदेशको जनकपुरको उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित मेलामा करिब ६ हजार जनाले अवलोकन गरेका छन् ।
मेलाको शुरुवात भएको पहिलो दिन जेठ १९ गते शनिवार करिब तीन हजार पाँच सय र २० गते आइतबार करिब दुई हजार पाँच सयले मेलाको अवलोकन गरेका हुन ।
दुई दिनमा रोजगारीको खोजीमा मेला स्थल पुगेका करिब २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् । मेलामा रोजगारीको लागि होटलतर्फ १०५ जना, अटोमोवाइल क्षेत्रमा ३५ र बैङ्कमा २७ र सेक्युरिटी गार्डतर्फ ८० जना गरि जम्मा २४७ जना आवेदकहरूलाई अन्तरवार्ताको लागि बोलाइएको छ ।
मेलामा उद्योग प्रतिष्ठानका १४ होटल संस्थाहरू–४ रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका ११, बैङ्क तथा वित्तीय संस्थाको २ तथा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा रोजगार कार्यालय जनकपुर र रोजगार सूचना केन्द्र समेत ६ गरी जम्मा ३७ वटा स्टल राखिएको थियो।
नेपाल उद्योग परिसंघ मधेश प्रदेशको संयोजनमा भएको मेलाको शनिवार माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभएको थियो ।
मेलामा श्रमाधान संवाद अन्तर्गत ४ वटा प्यानलहरूमा श्रम आप्रवासन र कानुनी प्रक्रिया र मनोसामाजिक प्रभाव, श्रम बजारमा भ्रामक सूचनाको असर, मधेशमा महिला उद्यमी संघर्षबीचको अवसर र वैदेशिक रोजगार कति सहज कति असहज, अबको बाटो सामाजिक सुरक्षाको प्यानल छलफल सम्पन्न भयो । उक्त प्यानल छलफलमा करिब २ हजार जनाको उपस्थिति रहेको थियो ।
आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित ‘श्रमाधान रोजगार मेलाको श्रम’ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालय र वीरगंज महानगरपालिका, जनकपुर, कलैया, जीतपुरसीमरा उपमहानगरपालिका र चन्द्रपुर नगरपालिका आयोजक र नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ र होटल संघ नेपाल मेलाको सह आयोजकका रुपमा रहेका छन् ।
देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ बागमती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन(आईएलओ)सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी)र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुन एकीकरण परियोजना (रेमी)ले पनि मेलामा विशेष सहयोग गरेका थिए । मेलामा सहयोग पुर्याउने सबैलाई आयोजकका तर्फबाट प्रशंसापत्र वितरण तथा धन्यवाद ज्ञापन गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्