तपाईँ सुन्दै हुनुहुन्छः

अलैँचीका बोटमा रोग लागेपछि बागलुङका किसान चिन्तित

बागलुङ । अलैँचीमा जरा, पात कुहिने र डढेलो लाग्ने रोग लागेपछि बागलुङका  कृषक चिन्तित बनेका छन् ।

आफूले  वर्षौँदेखि अलैँची खेती गर्दै आएको र गत वर्ष देखी रोग लागेर बगैँचा सुक्न थालेपछि आफु चिन्तित बनेको बरेङ गाउँपालिका वडा नं.का  २ कृषक धनेश्वर पौडेलले बताउनुभयो । केही वर्ष अगाडी वार्षिक ५ क्विन्टल अलैँची उत्पादन गर्दै  आएकोमा रोग लागे पछि गत वर्ष ३ क्विन्टल मात्र उत्पादन भएको र यो वर्ष रोगले बगैँचा सुकेपछि उत्पादनमा अझै कमी आउने पौडेलले बताउनुभयो ।

रोग नियन्त्रणको लागि गाउँपालिकाको कृषि शाखा, कृषि ज्ञान केन्द्र बागलुङ र पोखरासम्म पुगेर औषधी प्रयोग गर्दा पनि रोग नियन्त्रणमा नआएको उहाँको भनाइ छ ।  ताराखोला गाउँपालिका भित्र लगाएको अलैँचीमा पनि सोही रोगले बगैँचा सुक्न थालेको  ताराखोला २ का कुल बहादुर घर्तीले बताउनु भयो ।

रोग लागे पछि आफूहरू पालिकामा रहेको कृषि शाखालाई जानकारी दिई रोग रोकथामको लागि आवश्यक सल्लाह लिएको अर्का कृषक ऋषिराम रोकाले बताउनुभयो ।

रोग रोकथामको लागि बगान सरसफाई,रोगी बिरुवाहरू काटछाट गरि जलाउनुका साथै कृषि प्राविधिकको सल्लाह अनुसार औषधी गरे केही  नियन्त्रण गर्न सकिने कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत तथा सूचना अधिकारी नर बहादुर पुनले बताउनु भयो ।

बागलुङ जिल्लाको विभिन्न स्थानमा डम्मरशाही, चिबेशाही, मधुशाही, गोलशाही निर्मले, र भलाङे  प्रजातिका बिरुवा १ सय ३१ हेक्टर क्षेत्रफलमा लगाएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिरवालले बताउनु भयो । भौगोलिक अवस्था हेरी हावा पानी अनुसारको बिरुवा लगाउनको साथै स्वस्थ बिरुवा लगाएमा रोग सर्न बाट कमी आउने सिरवालको भनाई छ ।

बागलुङ जिल्लाको विभिन्न स्थानमा अलैँची खेती गरेपनि बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका र गलकोट नगरपालिकामा व्यावसायिक रुपमा अलैँची खेती गर्दै आएका छन् । नगदे बालिको रुपमा मानिने अलैँची बजारको लागि समस्या नभएको र गत वर्ष प्रति केजी  १५ सयदेखि दुई हजार रुपैयाँसम्म विक्री भएको र खरिदको लागि घरमै व्यापारी आउने गरेका छन् ।  गत वर्ष बागलुङ जिल्लाबाट ३.१ मेट्रिकटन अलैँची बिक्री गरिएको कृषि ज्ञान केन्द्रले जानकारी दिनु भयो ।

ताराखोला गाउँपालिका भित्र ३४ हेक्टर क्षेत्रफलमा लगाइएको अलैँची रोगको कारण आधा भन्दा बढी बिरुवा मरेको ताराखोला गाउँपालिका कृषि शाखा अधिकृत सन्दिप थापाले बताउनु भएको छ । गत वर्ष  अलैँची ताराखोलाबाट मात्र २ हजार ६० के.जी अलैँची विक्री भएको थापाले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button