तपाईँ सुन्दै हुनुहुन्छः

रामग्राम नेपालकै चौथो पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगर घोषणा

नवलपरासी पश्चिम् । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकालाई देशकै चौथो पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको छ। शनिबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल)ले घोषणा गर्नुभएको हो ।

सरकारले जारी गरेको पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्डका आधारमा रामग्रामलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको हो । मापदण्ड अनुसार कम्तीमा चार पटक गर्भ जाँच गरेका गर्भवती महिला कम्तीमा ९० प्रतिशत, दक्ष प्रसूतिकर्मीद्वारा ९५ प्रतिशत सुत्केरी स्वास्थ्य संस्थामा गराएको, घरमा हुने प्रसूति शुन्य र मापदण्ड अनुसार तीन पटक सुत्केरी जाँच कम्तीमा ९० प्रतिशत गराएको सुनिश्चितता भएपछि जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिले घोषणाका लागी स्वीकृति दिने व्यवस्था रहेको छ ।

रामग्राममा चालु आर्थिक वर्षमा १ हजार २२ जना सुत्केरी मध्ये १२ जना महिला अस्पताल लैजाने क्रममा र बाँकी सबै अस्पतालमा सुत्केरी भएका थिए । नगरपालिकाले मातृ शिशु कार्यक्रमलाई प्रभावकारी बनाउन गर्भवतीका लागी निःशुल्क एम्बुलेन्स सेवा सहित गर्भवती तथा सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण,स्वास्थ्य चौकीहरूमा ग्रामीण भेगमा निःशुल्क भिडियो एक्स रे सेवा समेत दिँदै आएको नगर प्रमुख धनपत यादवले बताउनुभयो । ग्रामीण भेगका महिलाहरू सदरमुकाम परासी सम्म भिडियो एक्स रेका लागी आउन आनाकानी गर्ने र नियमित चेकजाँच पनि नगर्ने गरेकाले सदरमुकाम परासीबाट टाढा रहेका ८ ओटा स्वास्थ्य संस्थामा साप्ताहिक रुपमा भिडियो एक्स रे सेवा प्रदान गरेको नगर प्रमुख यादवले जानकारी दिनुभयो । रामग्राम नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै विगतको तुलनामा शैक्षिक अवस्थामा समेत सुधार आएको बताउनुभयो ।

प्रसूति सेवालाई प्रभावकारी बनाउन विभिन्न स्थानमा सुविधा सम्पन्न प्रसूति सेवा केन्द्र स्थापना, सुरक्षित मातृत्व सेवालाई प्राथमिकतामा राखी गर्भ जाँच र उत्तर प्रसूति सेवालाई स्वास्थ्यकर्मीले घरदैलोमै गएर सुत्केरी तथा नवजात शिशुलाई मापदण्ड अनुसार स्वास्थ्य जाँच गरि खोप लगाउने काम समेत गर्दै आएको नगरपालिकाले जनाएको छ । गर्भवती महिलाको ८ पटक जाँच र सुत्केरीको समयमा स्वास्थ्य स्वयंसेविका मार्फत नियमित निगरानी गरी स्वास्थ्य संस्था पुर्‍याउने व्यवस्था पनि नगरपालिकाले गर्दे आएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिनुभयो ।

सो क्रममा प्रतिनिधि सभा सदस्य धुव्र बहादुर प्रधानले पछिल्लो समयम भित्री मधेसमा पनि स्वास्थ्यको अवस्थामा उल्लेखनीय सुधार आएको उल्लेख गर्नुभयो । उहाँले विकासका काममा जनप्रतिनिधिहरू एक ठाउँमा उभिनुपर्ने बताउँदै असन्तुष्टिका बिच पनि सन्तुष्ट हुन सिक्नुपर्नेमा जोड दिनुभयो ।

घोषणा कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद गिरीले सात प्रदेश मध्ये लुम्बिनीमा सुत्केरी हुने क्रममा सबैभन्दा बढी आमाको ज्यान जाने गरेको भन्दै संस्थागत प्रसूति सेवा सुनिश्चित गर्नु महत्त्वपूर्ण कदम भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख सम्झना चौधरी, प्रमुख जिल्ला अधिकारी सुरेस पन्थी, स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थी, सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मि लगायतले घोषणासँगै यसको दिगोपनमा जोड दिनुपर्ने बताउनुभयो । सो क्रममा नगर प्रमुख यादवले प्रदेश र सङ्घीय सरकारले स्थानीय सरकारको काममा बाधक नभई सहयोगी बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनसङ्ख्या भूगोलको आधारमा पालिकाहरूलाई बजेट विनियोजन गर्न पनि यादवले संघ र प्रदेश सरकारसँग माग गर्नुभयो ।

आजै नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको पनि घोषणा गरिएको छ । सो क्रममा नगरपालिकाले घोषणका लागी सहयोग गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था र महिला स्वास्थ्य स्वयंसेविका,कर्मचारी सहित स्वास्थ्यकर्मीहरूलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button