विश्व दूध दिवस : दूधको उत्पादन बढाउने गरी नीति ल्याउनुपर्नेमा जोड

जनकपुरधाम । मधेश प्रदेशमा सबैभन्दा बढी सङ्ख्यामा पशुपालन भएपनि दूधको उत्पादन कमी भएको भन्दै दूधको उत्पादन बढाउने गरि नीति ल्याउन सरोकारवालाहरुले जोड दिनुभएको छ ।
विश्व दूध दिवसको अवसरमा मधेश प्रदेश दुग्ध विकास बोर्डले आज जनकपुरधाममा आयोजना गरेको कार्यक्रमका वक्ताहरूले पशुपालन व्यवसाय गर्दा दूधको उत्पादन बढाउने गरी अगाडि बढ्नका लागि मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग आग्रह गर्नुभएको छ ।
कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले दूधको उत्पादन, प्रशोधन तथा बजारीकरणमा प्रदेश सरकार अगाडी बढेको बताउनुभयो । उहाँले मानव स्वास्थ्यका लागि दूध अति आवश्यक भएकाले दुग्धको उत्पादन बढाउने गरी मन्त्रालयले दुग्ध विकास बोर्डको गठन गरेको बताउनुभयो ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई धनुषाका प्रमुख युगल किशोर तिवारीले दूधको उत्पादनले ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउने गरेको भन्नुहुँदै गाउँमा उत्पादन भएको दूध शहरमा आउने र सहरको रकम गाउँमा पुग्ने गरेको बताउनुभयो ।

दुग्ध विकास बोर्ड मधेश प्रदेशका निर्देशक शङ्कर साहले मधेश प्रदेशमा मागभन्दा थोरै दुग्धको उत्पादन रहेका जानकारी दिनुहुँदै दूधको उत्पादन बढाएर किसानको आर्थिक अवस्था मजबुद बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले मधेश प्रदेशमा १२ लाख मेट्रिकटन दूधको उत्पादन हुने गरेको बताउनुभयो ।
दुग्ध विकास बोर्ड मधेश प्रदेशका उपाध्यक्ष डा.शम्भु नारायण साहले औषत रुपमा नेपालमा प्रतिव्यक्ति ८५ लिटर दूधको खपत भए पनि मधेश प्रदेशमा ७१ लिटर रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सरकारी मन्त्री न्यौपानेले दुग्ध विकास संस्थान जनकपुर वितरण आयोजना ढल्केवरले उत्पादन गरेको मटका दही र महीको शुभारम्भ गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्