तपाईँ सुन्दै हुनुहुन्छः

सोह्रौँ पञ्चवर्षीय योजनाका मुख्य विषयवस्तुहरूमाथि छलफल 

काठमाडौँ । राष्ट्रियसभाको विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकले सोह्रौँ पञ्चवर्षीय योजनाका मुख्य विषयवस्तुहरू र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सरकारको तयारीका बारेमा छलफल गरेको छ । 

सिंहदरबारस्थित समितिमा आज भएको छलफलमा सांसदहरुले तथ्याङ्कमा मात्र गरिबिको अन्त्य नभई वास्तविक गरिबिको अन्त्य हुनुपर्ने, १६ औँ पञ्चवर्षीय योजनामा महत्त्वाकाङ्क्षी योजना कार्यान्वयनको चुनौती रहेको भन्दै राष्ट्रिय योजना आयोगको  ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरुले घोषणा गरिएको कृषि दशकमा बिदेसिएका युवालाई स्वदेश फर्काई रोजगारीको व्यवस्था गरिनुपर्ने, पाठ्यक्रममा नै नैतिक शिक्षा राख्नुपर्ने, बढ्दो डिजिटलाइजेसनसँगै साइबर सुरक्षालाई ध्यान दिनुपर्ने र कार्यान्वयनमा रहेका योजनाहरूको अनुगमन मूल्याङ्कनको पाटोलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । 

राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयाँलले सांसदहरूको जिज्ञासाको जवाफ दिनुहुँदै आवधिक योजनाले कृषि, वन, उद्योगलाई राम्रोसँग समेटेको र प्रतिव्यक्ति आय १४ सय ५६ अमेरिकी डलरबाट बढेर पाँच वर्षपछि २३ सय ५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button