खाजा खाएर ग्राहक बिरामी भएपछि रेष्टुरेण्टलाई एक लाख जरिवाना
चितवन । नारायणगढको पुल्चोकमा रहेको हंग्री टम रेष्ट्रोमा खाजा खाएर ग्राहक बिरामी भएपछि रेष्ट्रोलाई एक लाख जरिवाना गरिएको छ ।
सोमबार साँझ सिल गरिएको हङ्ग्री टम रेष्ट्रो एण्ड बारलाई जिल्ला प्रशासन कार्यालय चितवनले आज एक लाख रुपैयाँ जरिवाना तिराएको हो । उक्त रेस्टुरेन्टको खाजा खाएर नौ जना भन्दा बढी बिरामी भई उपचारको लागि अस्पताल भर्ना हुनुपरेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार रेस्टुरेन्ट सञ्चालकलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको छ । ‘हङ्ग्री टम रेस्टुरेन्टलाई उपभोक्ता संरक्षण ऐन अनुसार एक लाख रुपैयाँ जरिवाना तोकिएको छ’, उहाँले भन्नुभयो , रेस्टुरेन्टको खाजा खाएर बिरामी भएकाहरूलाई उपचार गर्दा लागेको खर्च दिने विषयमा पनि रेस्टुरेन्ट सञ्चालकसँग कबुलियतनामा भएको छ ।’
खाजा खाएर बिरामी भएको उजुरी प्राप्त भएपछि संयुक्त अनुगमन टोलीले सोमवार साँझ रेस्टुरेन्टको अनुगमन गरी किचन सिल गरेको थियो । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बुधवार रेस्टुरेन्ट सञ्चालक विमल रिजालसँग बयान लिनुभएको थियो । बयान लिएपछि रेस्टुरेन्टको किचन एक हप्ताभित्र सुधार गर्न निर्देशन दिएको प्रजिअ थापाले जानकारी दिनुभयो ।
यसैबीच होटल व्यवसायी संघ चितवनले बुधवार एक विज्ञप्ति जारी गरी रेस्टुरेन्टको खानाले फुड पोइजन भई सात जना बिरामी भएको भन्ने समाचारप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उपभोक्तालाई गुणस्तरीय खाना तथा सेवा प्रदान गर्न पनि सङ्घले व्यवसायीहरूलाई अनुरोध गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्