तपाईँ सुन्दै हुनुहुन्छः

जलवायुमा परिवर्तन न्यूनीकरणमा साझेदारीको आवश्यकता

काठमाडौँ । जलवायु परिवर्तन न्यूनीकरणका गतिविधि प्रभावकारी बनाउन विश्वव्यापी रुपमा साझेदारीको आवश्यकता रहेको वक्ताहरूले जोड दिनुभएको छ ।

बुधबारदेखि काठमाडौँमा सुरु भएको ‘हिमाल, मानव र जलवायु परिवर्तन: विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’को आज दोस्रो दिनका सहभागीले सो कुरामा जोड दिनुभएको हो । 

पर्वतीय कार्ययोजनालाई अगाडि बढाउँदै: विश्वव्यापी सहयोग र क्षेत्रीय साझेदारी विषयक अन्तिम सत्रलाई सम्बोधन गर्दै मुख्य सचिव डा बैकुण्ठ अर्यालले अन्तर्राष्ट्रिय साझेदारी लागि साझा मञ्च निर्माण गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले शून्य कार्बन उत्सर्जन रणनीतिको प्रभावकारी बनाउन नेपाल लागिरहेको जानकारी गराउनुभयो । 

जलवायु परिवर्तनको असर पर्वतीय क्षेत्रमा मात्रै समिति नभई विश्वव्यापी समस्या भएको जनाउँदै समाधानका लागि सबैको साझा मुद्दा बन्नुपर्छ भन्नुभयो । “जलवायु परिवर्तनको मुद्दा निकै संवेदनशील मुद्दा बनेको छ, जलवायुका कारण हिमालको हिउँ पग्लँदै गएमा यसले ठूलो दुर्घटना निम्ताउने भएकाले समयमा नै सचेत हुनुपर्छ,” मुख्यसचिव अर्यालले भन्नुभयो ,“जलवायु परिवर्तनसम्बन्धी वित्तमा सहज पहुँचका लागि आवाज उठाउनुपर्छ । हाम्रो आवाज बलियो बनाउनका लागि पर्वतीय मुलुकको सञ्जालमार्फत गएमा आवाज बलियो हुन्छ  ।” 

उहाँले हरित ऊर्जा प्रवद्र्धनका लागि सरकारले विद्युतीय सवारी साधनको कर दायरा नबढाइएको जनाउँदै नेपाले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएको जानकारी दिनुभएको छ ।

पूर्व मुख्यसचिव तथा राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार डा शङ्करदास बैरागीले अन्य तल्लो तटीय क्षेत्रको सुरक्षाका लागि पर्वतीय क्षेत्रको सुरक्षा जरुरी रहकोमा जोड दिनुभएको छ । 

 जलवायु  परिवर्तन निकै जटिल विषय रहेको छ । हामीले गरिरहेको गतिविधि विश्वव्यापीरुपमा नै जलवायुको परिवर्तन न्यूनीकरणका लागि काम गरिरहेका छौँ भन्ने सन्देश दिन जरुरी । 

विकसित देशले कार्बन उत्सर्जन सीमित राख्नुपर्ने छ । लक्षित किसिमका कोष हिमाली देशका लागि छुट्याउनुपर्ने छ । उक्त सत्रमा एकीकृत पर्वतीय विकासको लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) का महानिर्देशक पेमा ग्याम्त्सो, विश्व बैकको वातावरणविज्ञ स्टीफन डान्यो तथा पर्वत साझेदारी सचिवालय एफएओका संयोजक रोसालउरा रोमेओले पनि आफ्नो धारणा राख्दै जलवायुको समस्या निराकरणमा साझेदारीको आवश्यकता औँल्याउनुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button