तपाईँ सुन्दै हुनुहुन्छः

गोरखामा आजबाट २१औँ सवा लाख रोट महोत्सव सुरु

गोरखा । वैशाख पूर्णिमाका दिनको अवसर पारेर गोरखामा आजबाट २१औँ सवा लाख रोट महोत्सव सुरु भएको छ ।

वैशाख पूर्णिमा दिन अर्थात् गोरखनाथ प्रकट भएको दिन पारेर सञ्चालन गरिने रोट महोत्सव आजबाट विधिवत् रुपमा सुरु भएको हो ।

रोट महोत्सवको पहिलो दिन आज बिहान विभिन्न झाँकीसहितको र्‍यालीले गोरखा बजार परिक्रमा गरेको थियो ।  

गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका कार्यालय प्रमुखहरू र १०८ कन्याहरूको कलश यात्रासहित  बैङ्क रोडबाट निस्किएको र्‍याली पुरानो बसपार्क, बिपीचोक, पदेली, ठुलो आँगन, सतिपिपल, रामशाह चौतारा, गणेशस्थान हुँदै गोरखनाथ गुफासम्म रथयात्रा भएको थियो ।

जेठ २१ गतेसम्म चल्ने महोत्सवमा देश र विदेशबाट साधु र साधकहरू आउने गर्दछन् । महोत्सवमा गोरखनाथलाई मनपर्ने प्रसादको रुपमा रोटलाई दिने गरिन्छ ।  विभिन्न प्रकारका मसला जाइफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिवल लगायत ५२ प्रकारका शक्तिवर्धक मसला राखेर गहुँ, जौ र धेरैजसो चामलको पिठोबाट रोट बनाउने गरिन्छ ।

भक्तजनहरूले देवी देवताको पूजा, विशेष हवन, भजनकीर्तन लगायतका गतिविधि गर्ने गर्दछन् । गुरु गोरखनाथलाई खुशी बनाउन सकेमा सङ्कट मोचन हुने भनाई रहँदै आएको छ ।

रोट भुङ्ग्रे र तावा गरी दुई प्रकारको हुने गर्दछ । भुङ्ग्रे रोट बलिरहेको आगोमा पोलेर बनाइन्छ भने तावा रोट शुद्ध घिउमा तारेर बनाइन्छ ।

२१ औँ रोट महोत्सवमा  ७० हजार भक्तजन रोट महोत्सवमा सहभागी हुने अपेक्षा गरिएको सिद्धाश्रम शक्तिकेन्द्र गोरखाका अध्यक्ष राम्जी अर्यालले बताउनुभयो ।

विश्वकल्याण, विश्वशान्ति, आध्यात्मिक तथा नैतिक समाज निर्माण गर्न, गोरक्ष निखिल शक्ति जागरण गर्न, गुरु गोरखनाथलाई खुशी बनाउन प्रत्येक वर्ष सवा लाख रोट महोत्सव गर्दै आएको छ ।

महोत्सवमा भाग लिन आउनेहरूलाई निःशुल्क भोजनको व्यवस्था गरिएको छ । नेपालीसँगै भारतीय नागरिकहरू पनि धेरै सङ्ख्यामा रोट महोत्सवमा भाग लिने गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button