तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न उपप्रधानमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न, उनीहरूका समस्या र गुनासोप्रति बेलैमा ध्यान दिन र शान्ति–सुरक्षाको प्रबन्ध तथा नागरिक अधिकारविरुद्ध हुने गतिविधि तत्काल नियन्त्रण गर्न निर्देशन दिनुभएको छ ।

आज हेटौँडामा भएको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उपप्रधानमन्त्री लामिछानेले गोष्ठीका निष्कर्ष र योजना अक्षरशः पालना गर्दै नागरिकलाई तत्काल परिवर्तनको आभास दिने गरी काम गर्न जिल्ला सुरक्षा समितिका सदस्यहरूलाई निर्देशन दिनुभयो ।

“राज्यका निकायप्रति नागरिकको विश्वास बढाउन सकिएन भने उनीहरूमा स्वतः बढ्ने निराशाले आक्रोश जन्माउँछ”, उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो– “आक्रोशले जन्माउने अराजक गतिविधिले सुरक्षा चिन्ता बढाउने भएकाले नागरिकमैत्री सेवा र सुधारमा जोड दिनुहोला।”

आम नागरिकलाई सरकारी कार्यालयको क्षेत्राधिकारसँग मतलब नहुने भन्नुहुँदै उपप्रधानमन्त्री लामिछानेले एउटा कार्यालयले अर्कोमा हुने कामको समेत समन्वय र सहजीकरण गरिदिनुपर्नेमा जोड दिनुभयो ।

आफूले गृह मन्त्रालयको नेतृत्व सम्हाले यताको दुई महिनामा राजस्व चुहावट नियन्त्रण, सरकारी / सार्वजनिक जग्गाको संरक्षण, कर्मचारीका गैर–व्यवसायीक आचरणजस्ता सुशासनका सूचकमा केही सुधार आएको भन्नुहुँदै उहाँले नीतिगत सुधारमा समेत पर्याप्त ध्यान दिइएको बताउनुभयो। उहाँले प्रहरी समायोजन, सुरक्षा सुदृढीकरण, विपद् व्यवस्थापन, लागू औषध नियन्त्रणजस्ता क्षेत्रमा विशेष चासोका साथ दीर्घकालीन महत्वका काम भइरहेको बताउनुभयो ।

“कानून कार्यान्वयन गर्ने अधिकार तपाईंहरुसँगै छ। निर्देशन चाहिन्न। तर, नियत बस् अधिकार दुरुपयोग गरेको पाइए कारबाही हुन्छ ।”, उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो।

नागरिकलाई लोकतन्त्रको लाभ लिनबाट बञ्चित गर्ने कुनै पनि गतिविधि नियन्त्रणमा निर्मम हुन निर्देशन दिनुहुँदै उहाँले कारागार सुधार र विपद् व्यवस्थापनमा प्रदेश सरकारसँग थप सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

मङ्गलवार र बुधवार गरी दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा गृह मन्त्रालयका उच्च अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखसहित बागमती प्रदेशका सबै जिल्लाका सुरक्षा अधिकारी सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button