तपाईँ सुन्दै हुनुहुन्छः

गुजारा चलाउन जुत्ता सिलाउँदै महिलाहरू

बाँके । ४१/४२डिग्रीको गर्मी कोहलपुर –नेपालगन्ज सडकखण्ड अन्तर्गत न्युरोडको सडक छेउमा लस्करै जुत्ता चप्पल सिलाउने यी चार महिलाहरू, कोही १७ त कोही ३ वर्षदेखि घामपानी नभनी जीविकोपार्जनको लागि जुत्ता सिलाउने काम गरिरहनुभएको छ।

कोहलपुर–५ घर भएकी दीपा सार्की बिगत १७ वर्षदेखि यही पेसामा हुनुहुन्छ । उहाँको हरेक दैनिकी जुत्ता–चप्पल सिलाएरै बित्छ। जुत्ता–चप्पल पुरुषले मात्र सिलाउनुपर्छ, महिलाले त छुनु पनि हुँदैन भन्ने परम्परा तोड्दै यसलाई आम्दानीको प्रमुख स्रोत बनाएको उहाँले बताउनुभयो ।

यही पेसामा लत बसेको बताउनुहुन्छ दीपा । कहिले कुन रुखको छहारी कहिले कुन रुखको छहारीमा बसेर जुत्ता–चप्पल सिलाउनु रहर होइन, बाध्यताले उहाँ सडक पेटीसम्म पुग्नुभएको हो। आफु एकल महिला भएको र छोराछोरीको लालनपालनको जिम्मेवारीले गर्दा यो पेशा अङ्गालेको उहाँको भनाइ छ । पहिले जस्तो धेरै कमाई नहुने, घामपानीले गर्दा मुस्किलले दैनिक चारदेखि सात सय कमाई हुने उहाँ बताउनुहुन्छ।

दीपाको छेउमै बस्नुभएकी मीना नेपालीले पनि जुत्ता–चप्पल सिलाउन थालेको १० वर्ष भयो। श्रीमानको मृत्यु भएपछि उहाँले व्यवसायको बाटो रोज्नुभयो। यसबाट नै आफ्नो छोराछोरीको लालनपालन भइरहेको उहाँले बताउनुभयो।

जुम्लाबाट आउनुभएकी निरमाया नेपालीले कोहलपुरमा आएर जुत्ता चप्पल सिलाउन लागेको पनि तिन बर्ष भयो। जुम्लामा खासै व्यापार नभएर कोहलपुर झरेकी निरमायाले सोचेजस्तो कमाई नहुँदा घरपरिवार पाल्न निकै धौ धौ भएको गुनासो गर्नुभयो ।

त्यस्तै, पिरिमा सार्की कालिकोटबाट आएर बिगत आठ वर्षदेखि यही सडक पेटीमा जुत्ता सिलाइरहनुभएको छ। श्रीमानलाई सघाउँदा सघाउँदै आफूले पनि काम सिकेको र अहिले यही पेशा अँगालेको उहाँको भनाइ छ । श्रीमान् अस्वस्थ भएर उपचारको लागि कोहलपुर झरेको तैपनि श्रीमानलाई पूर्ण रुपमा ठिक नभएपछि आफूले सात वर्षदेखि निरन्तर जुत्ताचप्पल सिलाउने काम गरिरहेको पिरिमा बताउनुहुन्छ । मुस्किलले दैनिक सात, आठ सय कमाइ हुने गरेको उहाँले बताउनुभयो ।

स्थानीय तहबाट खासै सहयोग नपाएको गुनासो गर्दै उहाँहरूले जुत्ताचप्पल बनाउने तालिम पाए आफ्नो पेसामा थप टेवा पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button