‘विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै सुशासन र अमनचयन कायम गर्नुपर्छ’
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताउनुभएको छ ।

नेपाल बार एसोसिएसनको काठमाडौँमा आज देखि सुरु भएको १६ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले देशमा सुशासन कायम हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति पौडेलले न्यायको स्वच्छतामा न्यायाधीश र कानुन व्यवसायीको आ–आफ्नै भूमिका हुने हुँदा बार र बेन्चबिचमा बेलाबेलामा छलफल तथा अन्तरक्रिया हुने गरेमा सही प्रतिफल प्राप्त हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति पौडेलले न्यायपूर्ण जीवनशैली बोकेका र अध्ययन अनुसन्धानमा समर्पित कानुन व्यवसायी न्यायपालिकाको सहयोगी मात्र हैन त्यसको सारथी पनि हुनसक्ने बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाको पुनः संरचना, संविधानको कार्यान्वयनमा सरकार क्रियाशील रहँदै आएको स्पष्ट पार्नुभयो ।
लोकतन्त्र र कानुनको शासन सभ्य समाजको पहिचान भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाले कानुनी शासनको रक्षा गर्नैपर्छ भन्नुभयो ।

संविधानवादको रक्षा र यसको सुदृढीकरणका निम्ति बारको भूमिका महत्त्वपूर्ण रहेको बताउनुहुँदै प्रधानमन्त्री प्रचण्डले संविधानवाद, लोकतन्त्र र मानवअधिकारका पक्षमा दृढतापूर्वक उभिने बारले साहस गरेको उल्लेख गर्नुभयो ।
समारोहमा वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता सर्वज्ञरत्न तुलाधरलाई अभिनन्दन गरिएको थियो ।
यही जेठ ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरबाट करिब सात हजार कानुन व्यवसायीको सहभागी हुनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्