तपाईँ सुन्दै हुनुहुन्छः

पारिश्रमिक नपाएपछि स्थानीय सरकार गुहारे गिरीबन्धुका चिया मजदुरले

झापा । झापाको गिरीबन्धु टि स्टेटमा कार्यरत मजदुरहरूले लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै स्थानीय सरकार गुहारेका छन् । मजदुरहरूले २०८० फागुनदेखि पारिश्रमिक नपाएको भन्दै मङ्गलवार विर्तामोड नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।

मजदुरहरूले विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईँ र उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलालाई ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले पारिश्रमिक उपलब्ध गराउन पहल गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । 

विर्तामोड नगरपालिका -६ र अर्जुनधारा नगरपालिका-११ मा रहेको  गिरीबन्धु टि-स्टेटमा कार्यरत श्रमिकहरूलाई पाक्षिक रुपमा भुक्तानी दिने व्यवस्था रहेको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ प्रतिष्ठान स्तरको ट्रेड युनियन गिरीबन्धु टि स्टेटका अध्यक्ष नारायण दर्जीले बताउनु भयो । उहाँका अनुसार गत फागुन ३० गतेदेखि २०८१ वैशाख २८ गतेसम्मको चार पटकको भुक्तानी रोकिएको छ । पारिश्रमिक नपाएपछि श्रमिकहरू भोक भोकै काम गर्न बाध्य भएको उहाँको भनाइ छ । व्यवस्थापकसँग पारिश्रमिक भुक्तानी माग गर्दा बगान बन्द रहेको भन्ने प्रतिक्रिया दिँदै आएको श्रमिकहरूको भनाइ छ ।

ज्ञापनपत्र बुझाउँदै मजदुरहरूले समस्या  समाधान नभए आन्दोलन गर्न बाध्य हुने र आन्दोलनबाट हुने क्षतिको जबाफदेही आफूहरू नहुने बताएका छन्  । ज्ञापनपत्रको बोधार्थ गिरीबन्धु टि-स्टेटका व्यवस्थापकलाई पनि पठाइएको दर्जीले बताउनु भयो।

यता, गिरीबन्धु टि-स्टेटका व्यवस्थापक सन्तकुमार राईले पैसा नभएकै कारण भुक्तानी दिन नसकेको बताउनु भयो । दिन बाँकी पारिश्रमिक पैसाको व्यवस्था मिलाएर चाँडै उपलब्ध गराउने उहाँको भनाइ छ ।

गिरीबन्धु टि स्टेटमा हाल १७० जना मजदुर स्थायी रुपमा कार्यरत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button